काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो २०२५’ आयोजना गरेको छ ।
परिसंघका अनुसार यो नेपालबाट अमेरिकामा आयोजना गरिएको पहिलो अन्तर्राष्ट्रिय रोड सो हो, यसले नेपाललाई आईटी–सम्बद्ध सेवा तथा आउटसोर्सिङका लागि एक प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस ऐतिहासिक पहलले नेपाललाई विश्वव्यापी प्रविधि क्षेत्रको महत्वपूर्ण हिस्सा बनाउने सम्भावनालाई उजागर गरेको छ । रोड सोअन्तर्गत नेपालका आईटी तथा आईटीईएस कम्पनीलाई अन्तर्राष्ट्रिय मञ्चमा सहभागी गराउन आउटसोर्सिङ क्षेत्रको सबैभन्दा ठूलो भेला ‘सेयर्ड सर्भिसेस् एन्ड आउटसोर्सिङ विक (एसएसओडब्लु) सम्मेलन २०२५’ मा एक विशेष नेपाल पवेलियन प्रस्तुत गरिएको थियो । नेपाल पवेलियनले नेपालका प्रमुख प्रविधि कम्पनीलाई विश्वभरका लगानीकर्ता, उद्योग विज्ञ, तथा निर्णयकर्तासमक्ष चिनाउन सफल भएको आयोजकले जनाएको छ ।
नेपाल पवेलियनमा नेपालका छ वटा प्रविधि कम्पनीहरू सक्छ, इनोभेट टेक, एफवान सफ्ट, सिमजुङ, सिनिकल टेक्नोलोजी र मोनाल टेकले आफ्ना नवप्रवर्तन तथा आउटसोर्सिङ क्षमता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका थिए । टेक पिक नेपालः ओर्लान्डो २०२५ मा नेपाली टोलीको नेतृत्व परिसंघ आईटी काउन्सिल सभापति एवं एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित शाहले गरेका थिए ।
यस रोड सोले अन्तर्राष्ट्रिय प्लाटफर्ममा महत्वपूर्ण उपलब्धि हासिल गरेको परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बताए । यस पहलमार्फत नेपालले अन्तर्राष्ट्रिय सूचना प्रविधि तथा आउटसोर्सिङ उद्योगमा विशाल सम्भावना प्रस्तुत गर्न सफल भएको उनको भनाइ छ ।
एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले परिसंघ र एमच्याम नेपालबीचको सहकार्यले नेपालको आईटीईएस क्षेत्रमा नयाँ आयाम स्थापित गरेको बताए । यस रोड सोले सिर्जना गरेका अवसरले नेपालमा थप लगानी र सहकार्यका ढोका खोल्ने र नेपाललाई आउटसोर्सिङका लागि प्रमुख गन्तव्य बनाउने उनको विश्वास छ । एसएसओडब्लु सम्मेलन २०२५ मा एक हजारभन्दा बढी उद्योग विज्ञहरूको सहभागिता रहेको थियो ।