काठमाडौं,लेखक/पत्रकार तथा राजनीतिक व्यक्ति कमलप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । आइतबार राति काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उनको निधन भएको हो । नेकपा एमालेका पूर्वसांसद तथा पूर्वराजदूत समेत रहेका कोइराला पछिल्लो समयमा विभिन्न सञ्चार माध्यममा स्तम्भकारका रूपमा आफ्ना विचार लेख्दै आएका थिए ।
उनी २०५१ सालको मध्यावधि निर्वाचनमा तत्कालीन मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा एमालेबाट सांसद निर्वाचित भएका थिए । कोइराला कोरियामा तीन वर्ष राजदूत भएर बसेका थिए । पक्षघात भएर घरमै ढलेपछि उनलाई केही दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारमा उनी एकमात्र कम्युनिस्ट नेता हुन् । कोइराला २०४७ सालमै दृष्टि साप्ताहिकको प्रधानसम्पादक भएका थिए ।