काठमाडौं । नेपालमा सम्पत्ति शुद्धीकरण गर्नेहरूको शंकास्पद कारोबारमा २४ प्रतिशतले वृद्धि भएको देखिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा यस्तो शंकास्पद कारोबार तथा गतिविधिको संख्या पाँच हजार नौ सय ३५ रहेकामा आव २०८०/०८१ मा करिब २४ प्रतिशतले वृद्धि भई सात हजार तीन सय ३८ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार कर छली, मौद्रिक/बैंकिङ/विदेशी विनिमय, बीमा, सहकारीसम्बन्धी, ठगीसम्बन्धी, चिट्ठा, जुवा, सट्टेबाजीलगायतका कसुर गरी सम्पत्ति शुद्धीकरण गरिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम गर्नुपर्ने रिपोटिङका लागि एकाइको गाएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको संख्या एक हजार छ सय ३९ पुगेको छ ।
सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन सम्पन्न भई एक वर्षको अवलोकन अवधिमा नेपालले गरेका विभिन्न सुधारका कार्यहरू र हाल नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले थप अनुगमनको सूचीमा राखेपछि नेपालले सोबाट बाहिरिन तथा समयबद्ध कार्ययोजनाको कार्यान्वयनका लागि गरिरहेका प्रयासबारे पनि उल्लेख गरिएको छ ।
वार्षिक प्रतिवेदनमा नेपालम सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा नेपालमा प्रयोग भइरहेका सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकार, कसुर गर्ने प्रविधि, पद्धति तथा प्रवृतिको बारेमा पनि उल्लेख गरिएको छ ।
प्रतिवेदनमा हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात तथा निर्यातको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरणलगायतका विषयहरू उल्लेख गरिएको छ ।