काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा गत शुक्रबार निजी तथा सार्वजनिक सम्पत्ति एवं सञ्चारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ ।
काठमाडौंको बानेश्वर, तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा प्रदर्शनका नाममा भएको हिंसात्मक घटनाप्रति चेम्बर अफ कमर्सले गम्भीर आपत्ति जनाएको हो । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गत शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकारसहित दुई युवाको दुःखद् निधन भएको छ, सार्वजनिक र निजी गरी थुप्रै भौतिक सम्पत्ति तथा सञ्चारगृहमा समेत क्षति पुगेको छ ।’ यस्ताखाले हिंसात्मक घटनाको घोर निन्दा र भत्सर्ना गर्दै चेम्बरले शुक्रबारको घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने जनाएको छ । प्रदर्शनका क्रममा आमनागरिक र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् भएको चेम्बरले उल्लेख गरेको छ ।
आन्दोलनका क्रममा मानवीय जीवनमा समेत दुःखद क्षति भएको उल्लेख गर्दै चेम्बरले ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदनना व्यक्त गरेको छ । मुलुकको अर्थतन्त्र शिथिलताबाट सुधारोन्मुख हुन लागेको अवस्थामा भए/गरेका यस्ता खाले उच्छृङ्खल गतिविधिले अर्थतन्त्रलाई थप धरासायी बनाउने भएकाले संयमित हुन सवै सरोकारवालालाई चेम्बरले अनुरोध गरेको छ ।