दोलखा । दोलखाको सदरमुकाम चरीकोट टुँडिखेलमा १० दिने १८ औँ १० करोड बज्रगुरु मन्त्र जप तथा विश्व शान्ति पूजा सुरु भएको छ । सो पूजाको आइतबार एक विशेष कार्यक्रमका बीच प्रमुख गुरु खेन्पो साङग्ये राङज्युङ रिन्पोछेले उद्घाटन गरेका थिए ।
उद्घाटनपछि गुरु रिग्जिनदुपाबाट परम्परागतबाट बज्रगरुको अभिषेक गरिएको थियो । यस्तै, सोमबार र मंगलबार विश्व शान्ति पूजामा प्रधानाध्यापक मङगलद्वीप विद्यालयका डा कर्मा साङपोले गुरु रिन्पोछेको जीवनी तथा हिमाली भेगमा गुरु पद्म सम्भवको योगथदान र आधुनिक परिवेशमा बौद्ध धर्मको र समय एवम विपश्यना ध्यानको विषयमा प्रवचन दिने कार्यक्रम रहेकोे छ । शान्ति पूजाको चौथो र पाँचौँ दिन बागेन्द्रशील नन्दप्रसाद तिमिल्सिनाबाट चार आर्यसत्यको व्याख्यान र विशेष गरी हाम्रो जीवनमा कर्मको भूमिका के छ ? भन्ने बारेमा र प्रतित्य समुत्पादन शून्यताको व्याख्यानबारे शिक्षण दिनेछन् ।
त्यसैगरी पूजाको छैठौँ दिन ग्येशे युक्तेन जिन्पाबाट गुरुको भूमिका र चेलाको कर्तव्यबारे, सातौँ दिन खेन्पो छिरिङबाट त्रियानाको भिन्नता, आठौँ दिन खेन्पो शिर लामा गुरुङबाट आस्तिक रनास्तिक, नवौँ दिन गुरु लामा येशे साङपो रिन्पोछेबाट वज्र नृत्य गुरु पद्मसम्भवका आठ लिला र आठ शुभनाम शिक्षण र दशौँ दिन आयुष अभिषेक गरी सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा लामा गुरु आठ सय र साधक तीन हजारको सहभागिता रहेको छ । आयोजकबाट व्यहोर्ने गरी दुई करोड ३५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, बागमती प्रदेशसभा सदस्य भरत केसी, पूर्वमन्त्रीहरू पर्वत गुरुङ, कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामा, पूर्वप्रदेश मन्त्री विशाल खड्कालगायतको उपस्थिति रहेको थियो ।