काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सिद्धान्ततः चित्त बुझाएको छ ।
कुलमानलाई सरकारले बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको एमडी नियुक्त गरेपछि प्रमुख प्रतिपक्ष माओवादी र अन्य विपक्षी दल तथा सत्तापक्षकै कांग्रेसका केही सांसदहरूले आपत्ति जनाउँदै आएका थिए ।
कुलमानलाई किन हटाएको भन्ने प्रश्नको प्रधानमन्त्रीको जवाफ माग्दै सदन अवरुद्ध भइरहेको बेला प्रधानमन्त्री ओलीले सोमबार संसद्लाई सम्बोधन गर्दै त्यसको जवाफ दिएका हुन् । प्रधानमन्त्री ओलीले कुलमानले अनुशासनहीन काम गरेको कारण सरकारले हटाएको र अनुशासनहीन र आदेश नमान्ने कर्मचारी हटाउने काम यो सरकारले मात्र नभई जुनसुकै सरकारले पनि गर्ने भन्दै यो विषय अदालतमा पुगिसकेको कारण थप केही प्रश्न उठाउन र जवाफ दिन नपर्ने बताएका थिए ।
‘राष्ट्रसेवक कर्मचारीहरूको गुण/दोष टिप्पणी गर्ने स्थलचाहिँ यहाँ हो भन्ने मलाई लाग्दैन । त्यसको प्रक्रिया छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारबाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ’, संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यतिचाहिँ भनौँ, सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमान्डले काम गर्दैन । विभागीय मन्त्रीको फिलिङ सही कि गलत, त्यसको पनि परीक्षण होला । हुने ठाउँमै होला । त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत–चेतावनी दिने वा पदमुक्त गर्नेसम्मका काम गरिन्छ । यो अहिलेको सरकारले मात्रै हैन, जहिलेको सरकारले पनि गर्छ । अहिले पनि भएको छ, जहिले पनि भएको छ । चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, त्यो पनि हुनेगरेको छ । भइरहेको छ ।’
आफूलाई पदबाट हटाएको विषयमा घिसिङले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको कारण त्यस विषयमा अदालतले पक्ष र विपक्षी दुवैलाई बोलाएको छ । दुवै पक्षको कुरा सुनेपछि मात्र सर्वोच्चले थप आदेश दिनेछ ।
‘अहिले यस विषय सम्मानित अदालतमा विचाराधीन छ । यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस विषयमा मलाई लाग्छ थप बहस नगरौँ, अहिलेको परिस्थितिमा ससाना विषयहरूमा ठूलो बहस विवाद चलाउने परिस्थिति पनि होइन, अवस्था पनि छैन ।’