विराटनगर । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा पुनको आत्मवृत्तान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले उनलाई सम्मान गरेको हो ।
डा पुुनलाई महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले संयुुक्तरूपमा महानगरको लोगो लगाइदिएर सम्मान गरेका थिए । कार्यक्रममा मेयर कोइरालाले पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता समेत जनाए । महानगरले बोलाएर सम्मान गरेकोमा धन्यवाद दिँदै पुनले आफू नबोलाएको ठाउँमा कहिल्यै नजाने उल्लेख गरे । पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भएको उनले जानकारी दिए । यस्तै, उनले कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने बताए ।
राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरू उत्पादन गर्ने डा पुुनले जानकारी दिए । कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिने भन्दै डा पुुनले उक्त कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको बताए । सोही कार्यक्रममा महानगरले संस्थागतरूपमा दुई लाख रुपैयाँ बराबरको पुस्तक खरिद गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।