काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आईटी हबका रूपमा विकास गर्न सकिने बताएका छन् । एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उनले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । आईटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको सुनाए । आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने उनको दाबी छ । प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको उनले बताए । ‘वायरलेस प्रविधि नेपालजस्तो पहाडी र हिमाली देशका लागि बरदान हो । सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको सम्भावना भएका क्षेत्रलाई एकीकृत गर्ने समय आएको छ’, उनले भने ।
यस्तै, उनले नेपाललाई क्षेत्रीय आईटी केन्द्रका रूपमा विकास गर्न एपीटीसँग सहकार्य जरुरी भएको बताए । नेपाल डिजिटाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवर्द्धन गर्न र नयाँ पुस्ताको सञ्चार प्रविधि अँगाल्न तयार रहेको उनको भनाइ छ । कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार तथा विकासमा फड्को मार्दै गइरहेको बताइन् । यसका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।
एपीटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेसन र यसको बहुराष्ट्रिय प्रभावबारे छलफलका लागि यो एक सशक्त समूह रहेको बताए । उनले ती विषयमा १२ वटा सिफारिस र एक सय ८४ वटा प्रतिवेदन तयार भइसकेको जानकारी दिए ।