झापा । भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । किच्चकबध दरबार महाभारतकालीन विराट राजाको सालो किच्चकको रहेको विश्वास गरिएको छ ।
पुरातत्वविद् उद्धव आचार्यले उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको जानकारी दिए । उनको नेतृत्वमा यही फागुन २५ गतेदेखि पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ ।
किच्चकबध स्थलमा २०५८ सालदेखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको विभागका अधिकृत नवराज अधिकारीले बताए । उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन् । भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।
“यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ”, पुरातत्वविद् आचार्यले भने, “विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ ।” उनका अनुसार विगतमा यहाँ भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितको भौतिक संरचना भेटिएको थियो । त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ ।
विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ । दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ । विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्त्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ ।
विभागले गत वर्ष एउटा मन्दिर हटाउन लगाएको थियो । यसपटक उत्खनन गर्दा सोही मन्दिरमुनि प्राचीन दरबारको जग भेटिएको छ । यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिए ।
पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन टेस्ट गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए । प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उनले बताए ।
“यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो”, उनले भने, “सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन् । यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ ।”
किंवदन्तीअनुसार यहाँ महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालोको दरबार थियो । पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए । त्यहीकारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो ।
थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ । सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन ।
विभागका अधिकृत अधिकारीले सरकारले उत्खननका लागि यसपटक १० लाख बजेट छुट्याएको बताए । “बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो”, उनले भने, “तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरिरहेका छौँ ।”
स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको बताए ।