वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू तेस्रो पटक राष्ट्रपति बन्ने सोचमा रहेको बताएका छन् । त्यसका लागि आफूले संविधान संशोधन गर्ने सेचिरहेको बताएका छन् । ट्रम्पको यो कार्यकाल सन् २०२९मा समाप्त हुनेछ ।
अमेरिकामा हाल एक व्यक्ति दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाउने प्रावधान छ । ट्रम्प गत नोभेम्बरमा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका थिए । यसअघि सन् २०१७ देखि २०२१सम्म राष्ट्रपति बनेका थिए ।
ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न संविधान संशोधन हुनुपर्छ । यसका लागि अमेरिकी कांग्रेस र राज्यहरुको समर्थन आवश्यक पर्छ । गत जनवरीमा ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्न अनुमति दिन संसद्को तल्लो सदनमा एक विधेयक पेस गरिएको थियो । जुन विधेयक ट्रम्पको रिपब्लिकन पार्टीका सांसद एन्डी ओगल्सले पेस गरेका थिए ।
यो विधेयकमा लगातार दुई कार्यकाल राष्ट्रपति रहेका कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित नहुने उल्लेख गरिएको छ । तर एक कार्यकाल छोडेर दोस्रो पटक राष्ट्रपति बनेका व्यक्ति तेस्रोे पटक राष्ट्रपति बन्नसक्ने व्यवस्था गरिएको छ ।
ट्रम्पको रिपब्लिकन पार्टीको सिनेटमा एक सयमध्ये ५२ सिनेटर छन् । साथै तल्लो सदनमा चार सय ३५ मध्ये दुई सय २० सदस्य छन् । जुन संविधान संशोधन गर्न आवश्यक पर्ने दुई तिहाइ अर्थात् ६७ प्रतिशत बहुमतभन्दा धेरै कम हो ।