बारा, साउन १४
पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमण अनियन्त्रितरूपमा फैलिँदै गएपछि छिमेकी जिल्ला बारामा सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा सुरक्षा अधिकारी, राजनीतिक दल, नागरिक समाजका अगुवाहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना अभियान सञ्चालन गर्नुका साथै सर्वसाधारणलाई मास्क र स्यानिटाइजर वितरण गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पँगेनीले बुधबारदेखि ठाउँ–ठाउँहरूमा मास्क र स्यानिटाइजर वितरण गरिने बताए । उनले छिमेकी सहर वीरगञ्जमा बढ्दै गएको कोरोना संक्रमितहरूको संख्यालाई मध्यनजर गर्दै बारामा व्यापकरूपमा प्रहरी परिचालन गर्नुको साथै समाजिक दूरीमाथि पनि निगरानी बढाएको बताए ।
यता सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले नेपाल र भारतको सीमा नाकामा व्यापकरूपमा प्रहरी परिचालन गरी निगरानी बढाइएको जानकारी दिए । नेपाल र भारतको सीमाको साथ साथै उनीहरू भित्रिएका भेगहरूमा समेत निगरानी बढाइएको छ । साथै सर्वसाधारणलाई बिनाकाम घरबाट बाहिर ननिस्किन र निस्कनै परे सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाउन भनी सचेत गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक पँगेनीले जानकारी दिए ।