काठमाडौं । कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको हरेक दिन निरीक्षण गरिने भएको छ । सहरी विकास मन्त्रालयबाट सो निर्माण कार्यको निरीक्षण गरिने भएको हो । निर्माण कार्यको प्रत्येक दिनको कार्य प्रगतिका बारेमा जानकारी लिनका लागि सहरी विकास मन्त्रालयले सिंहदरबारबाटै निरीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले मंगलबार निर्माणाधीन क्रिकेट मैदानको आफ्नै कार्यकक्षबाट निरीक्षण गरेका थिए । अब उनले हरेक दिन सिंहदरबारस्थित कार्यकक्षबाटै नियमित निरीक्षण गर्नेछन् ।
सरकारले आगामी वैशाख २४ गतेभित्र सम्पन्न गर्नेगरी सो क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडानको काम गरिरहेको छ । निर्धारित समयमै काम सक्न हाल आठ घण्टाका दरले तीन सिफ्टमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री सिंहले निर्धारित समयमै सक्ने गरी काम गर्ने व्यवस्था मिलाउन र कामको गति बढाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट सो मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप प्याराफिट निर्माण र फ्लडलाइट जडान गत फागुनमा सम्झौता भएको थियो । सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्धारित समयमै निर्माण सक्ने गरी काम भइरहेको र अब नियमितरूपमा मन्त्रालयबाटै निरीक्षणको व्यवस्था मिलाइएको बताए ।
‘मन्त्रीज्यूले मन्त्रालयबाटै कीर्तिपुरमा भइरहेको कामको निरीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘निर्धारित समयमै काम सक्नुपर्नेमा उहाँको जोड छ ।’ गत चैत ७ गते मन्त्री सिंहले कीर्तिपुर पुगेरै निर्माण कार्यको निरीक्षण गरेका थिए । आगामी वैशाख २४ गतेभित्रै कीर्तिपुर मैदानमा १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गर्ने गरी मन्त्रालयले काम गरिररहेको छ ।