पर्सा, साउन १४
जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योगलाई सिल गरेको छ । उद्योगका ४ जनामा संक्रमण पुष्टि हुनासाथ सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेका हुन् ।
अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमतिबिना उद्योग प्रवेशमा रोक लगाइएको सहायक सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाईछिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना आउनसाथ स्थलगत अनुगमन गरी कोरोना भाइरसको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको र कोरना पुष्टि हुनसाथ सिल गरिएको बस्नेतले जानकारी दिए ।
जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योगभित्रै वा उद्योगबाहिर उपयुक्त स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ ।