काठमाडौं । नबिल बैंकले ’वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सोमबार काठमाडांैमा उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेकी हुन् । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाहरूका लागि केही अप्ठ्याराहरू भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । ’हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ,’ अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए । ’अहिले पनि कार्यस्थलहरूमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरू नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ,’ उनले भने, ’नबिल बैंक पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सिर्जना गर्ने विषयमा सकारात्मक छ ।’ उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको नेतृत्व बढाउन जरुरी रहेकोमा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरूको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । ज्ञवालीले भने, ’बैंकिङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरूको सहभागिता बढाउन जरुरी छ, महिलाहरूको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरू काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु । ’ सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरू बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्यरूपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनले बताए । कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् । ’नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको बृहत् आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ,’ उनले भनिन्, ’नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरूको ठूलो भूमिका भएको मैले पाएकी छु ।’
कार्यक्रममा ’द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एन्ड क्याटलाइजिङ लिडरसिप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरूले महिलाहरूले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरूका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरूको सहभागिता थियो । नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवर्द्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौं उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत एक सय महिला कर्मचारीले लाभ लिएका थिए ।
बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी बृहत्त् ¥याली आयोजना गरेको थियो। जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार दुई सय सयभन्दा बढी कर्मचारीको सहभागिता थियो । बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै, मधेश प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै, नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई दुई सय ६८ शाखा र तीन सय २० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।