काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट नेप्सेको प्रमुख कार्यकारी नियुक्त भएका चापागाईंले मंगलबार अर्थ मन्त्रालयमा राजस्वसचिव दिनेशकुमार घिमिरेबाट नियुक्ति पत्र बुझेका हुन् ।
झापा निवासी चापागाईंसँग लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध भएर काम गरेको अनुभव छ । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित नभएपछि सरकारले चापागाईंलाई नेप्सेको प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । चापागाईंको नियुक्तिपछि गत माघ २५ गतेदेखि प्रमुख कार्यकारी अधिकृतविहीन भएको नेप्सेले नयाँ नेतृत्व पाएको छ ।