काठमाडौं । युडब्लुएस नेपालले ‘शून्य शैक्षिक गरिबी’ अभियानको शुभारम्भ गरेको छ । ललितपुरमा आयोजित ‘युके एड म्याच चौथो चरणः सिकाइदेखि कार्यान्वयनसम्म’ नामक कार्यक्रमका बीच अभियान सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन पूर्वसंस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री एवं सांसद योगेश भट्टराईले गरेका थिए । यस अभियानले सन् २०३० सम्म एक लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्ने र पाँच हजार शिक्षकलाई आवश्यक तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । युडब्लुएस नेपालको कार्यक्रम प्रमुख अविनाश झाले सरकार, संघसंस्था र साझेदारहरू मिलेर शिक्षा गरिबी अन्त्य गर्न सक्रिय पहल गर्ने समय आएको बताए । कार्यक्रममा पूर्वमन्त्री भट्टराईले नेपालको शिक्षा क्षेत्रमा देखिएका प्रमुख चुनौतीहरू उच्च विद्यालय छोड्ने दर, बजेट अभाव र शिक्षक अभावलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।
नेपालमा हरेक वर्ष ११ लाख विद्यार्थी कक्षा १ मा भर्ना भए पनि केवल पाँच लाख विद्यार्थी मात्र एसईईसम्म पुग्ने तथ्यांक प्रस्तुत गर्दै उनले नीतिगत हस्तक्षेप, आधारभूत शिक्षाको सुदृढीकरण र शिक्षक व्यवस्थापन सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीय सरकारसँग सहकार्यको महत्व समेत उल्लेख गर्दै यस अभियानमा जोडिन आह्वान गरे । युडब्लुएस नेपालका बोर्ड सदस्य दिलीप अग्रवालले युडब्लुएस नेपालले सहकार्य गरेका विद्यालयहरू भ्रमण गर्दा सकारात्मक परिवर्तनको महसुस गरेको अनुभव सुनाए । आमा समूह, बाल क्लबहरू र स्थानीय सरकारको सक्रिय संलग्नताले विद्यालय सुधारमा पारेको उनको भनाइ थियो ।
कार्यक्रममा युडब्लुएस नेपालको ‘युके एड म्याच चौथो चरण’ परियोजनाको उपलब्धिहरूको समीक्षा समेत गरिएको थियो । युडब्लुएस नेपालका राष्ट्रिय निर्देशक सूर्य कार्कीले समावेशी शिक्षाप्रति युडब्लुएस नेपालको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम हालसम्मको उपलब्धिको समीक्षा गर्नका लागि मात्रै नभई शिक्षा प्रणालीको भविष्य कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न आयोजना गरिएको उनले बताए । कार्यक्रममा किंग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालको नेतृत्वको उच्चस्तरीय प्यानल छलफल समेत भएको थियो ।
कार्यक्रममा युडब्लुएस नेपालको कार्यक्षेत्रभित्रका स्थानीय सरकारका प्रतिनिधिहरूले शिक्षा नीति सुधार, डिजिटल शिक्षाको प्रवद्र्धन, भौतिक पूर्वाधार विकास र शिक्षक तालिमलगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुखहरूले युडब्लुएस नेपालले नेपालको ग्रामीण भेगमा शैक्षिक गुणस्तर सुधारका लागि गरेको कामको प्रभावकारिताको प्रशंसा गर्दै विद्यार्थीको सिकाइ र अभिभावक संलग्नतामा सुधार आएको बताएका थिए ।
यस्तै, नेपालमा शिक्षा प्रणालीमा देखिएका अदृश्य संकटहरू आधारभूत तहको साक्षरता, शैक्षिक वित्तीय व्यवस्थापन र नीतिगत कमजोरीहरूको समीक्षा पनि गरिएको थियो । छलफलमा शिक्षाविद्हरूले शिक्षक तालिमको निरन्तरता, स्थानीय भाषामा पाठ्यसामग्री विकास, अभिभावक संलग्नता, समावेशी सिकाइ प्रणाली र शिक्षक–विद्यार्थी अनुपातमा समानता ल्याउनु आवश्यक रहेकोमा जोड दिँदै युडब्लुएस नेपालको समुदाय केन्द्रित, न्यून लागतमा शिक्षा सुधार गर्ने मोडललाई राष्ट्रियस्तरमा विस्तार गर्नुपर्ने बताए ।
युडब्लुएस नेपालका ग्रामीण भेगका पाँच जिल्लाका २८ नगरपालिकाका तीन सय २१ दुर्गम समुदायहरूमा शैक्षिक रूपान्तरण गरी एक सय सात विद्यालयहरूमार्फत २० हजार छ सय ९० विद्यार्थीलाई गुणस्तरीय शिक्षाको पहुँचमा पु¥याएको जनाएको छ । यस संस्थाले सिकाइमा रहेका प्रणालीगत अवरोधहरू हटाउँदै नेपालका केही सबैभन्दा सीमान्तकृत क्षेत्रहरूमा दिगो सुधार गर्न महत्वपूर्ण योगदान दिएको जनाइएको छ ।