काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको झोरमा यही चैत ४ गते राति प्रहरीले ट्रकबाट बरामद गरेको २५ करोड रुपैयाँबराबरको अमेरिकी डलर र युरोको मालिक सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई गोगंबुमा बस्ने नारायण पौडेल रहेको प्रहरीले जनाएको छ ।
खासै कुनै ठूलो पेसा नभएका पौडेलले माओवादी नेतासँग मिलेर कारोबार गर्नेगरेको देखिएको छ । पौडेल आफैँ माओवादीका स्थानीय नेता हुन् । उनको माओवादी अध्यक्ष प्रचण्ड र पूर्वगृहमन्त्री जनार्दशन शर्मालगायतका माओवादी नेतासँग राम्रो सम्बन्ध छ ।
यद्यपि प्रहरीले पौडेलको पैसासँग माओवादी नेताको कनेक्सनको बारेमा केही बताएको छैन । यद्यपि उनका परिवारका सदस्य सुन तस्करीमा लाग्दा पनि शर्मा गृहमन्त्री भए । गृहन्त्रीले उनीहरुलाई बचाएका थिए ।
प्रहरीका अनुसार उक्त रकम चीन लगेर सुन किनेर ल्याउने योजनाअनुसार गाडीमा लोड गरेर चीन लैजान लागिएको थियो । ट्रक र रकम प्रहरले पक्राउ गरेपछि उनी घरमा ताला लगाएर भागेका थिए । उनी गोंगबुको महादेवटार हाइटमा बस्दैै आएका थिए । उनी भागेका छन् ।