काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणको सबै बचत सहजरूपमा फिर्ता गराउन सहकारी अभियानले दायित्वबोध गर्नुपर्ने बताएका छन् । ६८औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बुधबार काठमाडौंका आयोजित कार्यक्रममा उनले सहकारीका सदस्यहरू पीडित बन्ने अवस्था आउनै नहुनेमा जोड दिए ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले सहकारी मर्यादित हुनुपर्ने बताए । सहकारी मर्यादित हुन सके मात्रै त्यसले समुन्नत समाज निर्माणको आधार तयार गर्न सक्ने उनको भनाइ छ । ‘नेपालमा रहेका ३१ हजारभन्दा बढी सहकारी संस्थाहरूमध्ये केही सहकारी संस्थाहरूमा सर्वसाधारण जनताको बचत रकम फिर्ताको समस्या देखिएको छ’, उनले भने, ‘सहकारीमा सदस्यहरू नै केन्द्रीय तत्व हुन्छन् उनीहरू पीडित बन्नुपर्ने अवस्था आउनै हुँदैन । तसर्थ, केही सय सहकारीमा मात्र देखिएको समस्या हो भनेर हामी चुप बस्न सक्दैनौँ ।’ हालसालै सहकारी ऐनमा समसामयिक संशोधन गरी सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार लागि परेको उनले बताए । सहकारी क्षेत्रमा सुशासन कायम गर्न र सर्वसाधारणको सबै बचत सहजरूपमा फिर्ता गराउन सहकारी अभियानले पनि थप दायित्वबोध गर्नुपर्ने उनको भनाइ थियो ।
सहकारी आफैँमा आर्थिक, सामाजिक जागरणको अभियान पनि भएको भन्दै उनले संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भकोरूपमा स्वीकार गरेको बताए । सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति संविधानमा नै आत्मसात गर्ने मुलुकको रूपमा नेपालको छुट्टै पहिचान स्थापित भएको पनि सिंहको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै सहकारी व्यवस्थित भएको सन्देश प्रभाव गर्नुपर्ने बताए । ‘तीन खम्बे अर्थनीतिमध्ये सहकारी पनि एक हो, तसर्थ यसलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘सरकारले पनि सहजीकरण गर्दै आइरहेको छ । यसकारण समस्या समाधान गर्न प्राधिकरण ल्याएका छाँै ।’ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रमा युवावर्गको सहभागिता अझै बढाउनुपर्ने, आर्थिक, समाजिक र सांस्कृतिक विकासका लागि सहकारीलाई मर्यादित बनाउनुपर्ने, सहकारीलाई भरपर्दो बनाउने प्रयास गर्नुपर्नेमा जोड दिए ।
सहकारी क्षेत्रको छाता संगठन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीमा देखिएका चुनौती समाधान गर्ने हो भने मात्रै ‘मर्यादित सहकारीः समुन्नत समाज’को नारा कार्यान्वयनमा आउने बताइन् । सहकारीलाई कसैले पनि निजी कम्पनीजस्तो बनाउन नहुनेमा उनले जोड दिइन् ।