काठमाडौं । पूर्व सुरक्षा अधिकारीहरूले गत शुक्रवार राजधानीको तिनकुनेमा पूर्व राजाका समर्थकहरूले गरेको प्रदर्शनले हिंसात्मक र अराजक स्वरूप लिनुमा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैको कमजोरी देखिएको भन्दै निष्पक्ष छानबिनमा जोड दिएका छन्।
सरकारले गएको हप्ता दुर्गा प्रसाईँ नेतृत्वको अभियानले राजधानीमा गरेको प्रदर्शन 'हिंस्रक' बन्नुमा पूर्व राजालाई समेत जवाफदेही बनाइने बताएको छ।
घटनाको सूक्ष्म विश्लेषण गरेका सुरक्षा निकायका पूर्व उच्च सुरक्षा अधिकारीहरूले त्यसदिन अवस्था खराब हुनुमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै पक्षबाट भएको त्रुटी जिम्मेवार रहेको बताएका छन्।
एकजना टेलिभिजन पत्रकारसहित २ जनाको ज्यान गएको उक्त प्रदर्शनमा सुरक्षाकर्मीसहित १०० भन्दा बढी घाइते भएका थिए। कम्तीमा २० जनालाई प्रहरीले चलाएको गोली लागेको छ। र गोली लागेका केहीले आफू प्रदर्शनमा सहभागी समेत नभएको दाबी छन् भने ति मध्ये केहीको गम्भीर अवस्थामा राजधानीका विभिन्न अस्पतालहरूमा उपचार भैरहेको छ।प्रदर्शनस्थल क्षेत्र वरपर आगजनी, तोडफोड र लुटपाटका घटनाहरू भएका थिए भने सञ्चारमाध्यमका कार्यालयहरू पनि निशानामा परेका थिए।
'आश्चर्य पार्ने घटनाक्रम'
ती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५० भन्दा धेरैलाई पक्राउ गरेको छ जसमध्ये कतिपयलाई राज्य द्रोह र सङ्गठित अपराधमा अनुसन्धान अघि बढाइएको छ।
उक्त प्रदर्शनका कमान्डर भनिएका दुर्गा प्रसाईँको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पूर्व गृह सचिव उमेश मैनाली शुक्रवारको प्रदर्शनका सम्बन्धमा सुरक्षा निकायले सम्भावित परिस्थितिको आकलन राम्ररी गर्न नसकेको देखिने ठान्छन्।
उनी भन्छन्, "एउटा अराजक छविको मान्छेको हातमा (जुलुसको) नेतृत्व गयो भने त्यसले यो सम्मको स्थिति निम्त्याउँछ भन्ने पूर्व सावधानी प्रहरी प्रशासनले लिएको हुनुपर्छ त्यो लिएको देखिएन।"
"जुन ठाउँ (तीनकुने) उहाँहरूलाई दिइयो त्यो सर्वथा अनुपयुक्त थियो। विमानस्थलको नजिक र अत्यावश्यक सेवामा पर्ने अन्तर्राष्ट्रिय उडान हुने र त्यत्रा प्रज्वलनशील ट्याङ्करहरू भएको ठाउँमा ठूलो दुर्घटना हुन सक्थ्यो। त्यहाँ प्रशासनले किन (अनुमति) दियो मलाई आश्चर्य लागिरहेको छ।"प्रहरीसँगको झडपपछि अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अघि बढेका प्रदर्शनकारीहरूका कारण विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण रोकिएका र विमानस्थल डेढ घण्टासम्मका लागि बन्द गरिएको थियो।
नागरिक उड्डयन प्राधिकरणको भवन नजिकै भएको आगजनी निभाउन दमकल खटाइएको थियो।
गृह प्रशासनले उक्त प्रदर्शनमा ३ देखि ४ हजार मानिसहरू सहभागी भएको आकलन गरेको थियो।
पूर्व गृहसचिव मैनाली भन्छन्, "घर घरमा आगलागी हुने र पार्टी कार्यालय नै तोडफोड गर्न जाने परिस्थिति आउला भनेर सरकारले अनुमान नै गर्न सकेन। अथवा गुप्तचरको प्रतिवेदनमा केही कमजोरी भयो जसले गर्दा नहुनु पर्ने घटना घट्यो।"राजसंस्था पुनर्स्थापनाको विपक्षमा विचार राख्ने गणतन्त्र पक्षधर समाजवादी मोर्चाले पनि उक्त दिन राजधानीमा प्रदर्शन गरेको थियो।
दुवैलाई लक्षित गरी त्यो दिन ५,००० सुरक्षाकर्मी खटाइएको अधिकारीले बताएका थिए।निष्पक्ष र तटस्थ छानबिन
कतिपय पूर्व सुरक्षा अधिकारीहरूले उक्त दिनका घटनाक्रममा सुरक्षा निकाय र गृह प्रशासनको भूमिकामा समेत प्रश्न गर्न सकिने बताएका छन्।
नेपाल प्रहरीका एक जना पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहले भने, "जोखिम देखेको भए स्वीकृती नै दिनुहुँदैन थियो। तर दिएपछि त्यसलाई व्यवस्थापन गर्ने काम सरकारको हो।"
"यस्तो मान्छेले (नेतृत्व) गर्दैछ र उसले कतै आक्रमण गर्न सक्छ भन्ने थाह थियो भने सरकारले कि दिनै हुँदैन थियो या दिँदा पनि खुला ठाउँमा दिनुपर्थ्यो। जे भयो त्यो योजनाबद्ध भयो भन्ने मलाई लाग्छ। कसले गर्यो अनुसन्धान गर्नुपर्छ र यसको जिम्मेवारी नेपाल सरकारले र गृहमन्त्रीले लिनुपर्छ।"
शुक्रवारको घटनाले कैयौँ प्रश्नहरू खडा गरेको भन्दै उनले थपे, "आवश्यक पर्यो भने बाहिरको मान्छे पनि राखौँ तर प्रधानमन्त्रीको मान्छेले होइन तटस्थ मान्छेबाट छानबिन गराउने आँट उहाँले गर्नुस्।"
विभिन्न संरचनामा लुटपाट र आगजनीका घटना चर्किएसँगै अधिकारीहरूले शुक्रवार सडकमा सेना परिचालन गरेका थिए।नेपाली सेनाका एकजना अवकाशप्राप्त उपरथी सुदर्शन सिलवाल भन्छन्, "दुवै पक्षको कमजोरीहरू देखिन्छ। सुरक्षाको हिसाबले कतिपय पक्षमा ध्यान पुर्याउन नसकेको देखिन्छ।"
"अत्यन्त खराब परिस्थितिलाई विश्लेषण गरेर सुरक्षा निकायहरूले जोखिम प्रतिकार्य योजना बनाउनुपर्छ। क्षति कम गर्न राज्यले भरपुर पूर्व योजना बनाउनुपर्छ अनि त्यसलाई कार्यान्वयन गर्नुपर्छ। कार्यान्वयनमा त्रुटि हुँदा यस्तो भयो।"
उनी शान्ति सुव्यवस्था सुनिश्चित गर्ने दायित्व सरकारको रहे पनि संविधान अन्तर्गत आन्दोलन गर्न पाएको हक कार्यान्वयन गर्दा अर्को पक्ष पनि जिम्मेवार बन्नुपर्ने बताउँछन्।
उनले थपे, "आफ्ना कार्यक्रमलाई शान्तिपूर्ण ढङ्गले र सर्वसाधारणको सुरक्षा र सरकारी संयन्त्रमा क्षति नपुर्याउने हिसाबले सञ्चालन गर्ने जिम्मेवारी आयोजकहरूको पनि हुन्छ। हामीले अपेक्षा नगर्ने स्तरको क्षति भएको छ जुन दुर्भाग्य हो।"
उनले शुक्रवारका घटनाका क्रममा भएका कमी कमजोरी र वास्तविकता पत्ता लगाउन छानबिन गरिनुपर्ने धारणा राखे।
'आपराधिक कसुर'
तर गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रवारको घटना 'आपराधिक' कसुरसँग जोडिएको भएकाले यसमा प्रहरीले नै अनुसन्धान गरिरहेको बीबीसीलाई बताएका छन्।
उनले भने, "विगतको आन्दोलन हेर्ने हो भने आवेशले प्रेरित भएर सरकारी गाडीमा हान्ने भन्ने हुन्थ्यो। एकचोटी इराक घटनामा व्यक्तिका घरहरूलाई लक्षित बनाइएको थियो। त्यसपछि यस्तो घटना नेपालको इतिहासमा दोस्रो पटकमात्रै भएको हो भनेर जानकारहरू भन्छन्। यो आपराधिक काम नै हो। त्यही भएर यसमा प्रहरीले नै अनुसन्धान गर्छ। सरकारको दृष्टिकोण यसमा यही हो।"
सुरक्षा अधिकारीहरूले शान्तिपूर्ण कार्यक्रमलाई अनुमति दिइएको तर त्यो हिंसात्मक बन्ने अनुमान आफूहरूले नगरेको भन्दै तीनकुनेमा आमसभा गर्न दिने निर्णयको बचाऊ गरिरहेका छन्।
(बीबीसी)