काठमाडौं ।नेपालको अर्थतन्त्र आर्थिक समस्याहरूको बाबजुद उत्थानशील रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । बिहीबार नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । प्रतिवेदनअनुसार सन् २०२४÷२५ मा नेपालको अर्थतन्त्र चार दशमलव पाँच प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । जुन अघिल्लो आर्थिक वर्ष सन् २०२३÷२४ मा तीन दशमलव नौ प्रतिशत थियो ।
आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयनअनुसार, यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५÷२६ र २०२६÷२७ मा नेपालको अर्थतन्त्रको वृद्धिदर औसत पाँच दशमलव चार प्रतिशत हासिल हुनसक्ने प्रक्षेपण गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ ।
विश्व बैंकले निजी क्षेत्रलाई थप प्रोत्साहन गरी रोजगारी सिर्जना गर्नुपर्ने र आर्थिक वृद्धिलाई बढवा दिन उपयुक्त हुने सुझाव पनि दिएको छ । ‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलता वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ’, विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने ।
प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास)हरूलाई पनि औँल्याएको छ, जसमा भू–राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् । यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउनसक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीहरूको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असङ्गतिको जोखिम तथा पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ ।
‘नेपाल डेभलपमेन्ट अपडेटले पछिल्ला आर्थिक विकासबारे महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नुका साथै नेपालको उत्थानशील आर्थिक वृद्धिलाई प्रकाश पार्दछ । नेपालको १६औँ योजना लक्ष्यहरू हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालू परियोजनाहरू समयमै सम्पन्न गर्न आवश्यक छ’, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले भने । ‘नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुई पटक प्रकाशित हुने प्रतिवेदन हो, जसले अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमहरूलाई दीर्घकालीन विश्वव्यापी सन्दर्भमा राखेर विस्तृत विश्लेषण प्रदान गर्दछ’, प्रतिवेदनमा भनिएको छ ।