काठमाडौं । कर्मचारी सञ्चय कोषले पाँच अर्ब ३४ करोड रुपैयाँ नाफा वितरण गरेको छ । कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कुल नाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सो रकम वितरण गरेको हो ।
कोषका सञ्चयकर्ताहरूको खातामा करिब पाँच अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तिभरण कोषका योगदानकर्ताहरूको खातामा करिब छ करोड ४३ लाख रुपैयाँ नाफा जम्मा गरिएको कोषका मुख्य प्रबन्धक तथा प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार कोष सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले कोषको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरू मौज्दात रकममा एक दशमलव १० प्रतिशतका दरले हुने रकम नाफाका रूपमा वितरण गर्ने निर्णय गरेको थियो । सोहीबमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको सुवेदीले जानकारी दिए ।
कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल नाफाकोे ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरेको छ । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालू आर्थिक वर्षमा सञ्चित रकममा पाँच दशमलव ५० प्रतिशतका दरले व्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताहरूले कोषबाट छ दशमलव ६० प्रतिशत व्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् ।
सोअनुसार कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने पाँच दशमलब ५० प्रतिशत व्याजदरमा नाफा एक दशमलव १० प्रतिशत समेत जोड्दा छ दशमलव ६० प्रतिशत हुने र विशेष सापटीको व्याजदर छ दशमलव ६० प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने व्याज समान रहन गएको कोषले जनाएको छ । यसैगरी, हाल अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा समेत सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सञ्चित रकममा व्याज र मुनाफा समेत गरी वार्षिक छ दशमलव ६० प्रतिशतका दरले प्रतिफल प्रदान गर्न सकिएको जनाइएको छ ।
कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पत्तिलाई स्वास्थ्य उपचार शोधभर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजकिरिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदानलगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ ।
यसअन्तर्गत गत आर्थिक वर्षमा सुत्केरी तथा शिशु स्याहार सुविधाबापत १९ हजार पाँच सय २५ जना सञ्चयकर्तालाई करिब १४ करोड ६५ लाख रुपैयाँ, काजकिरिया अनुदानबापत सात सय छ जनालाई करिब दुई करोड ८२ लाख रुपैयाँ, दुर्घटना क्षतिपूर्तिबापत एक सय सात जनालाई करिब दुई करोड १४ लाख रुपैयाँ प्रदान गरिएको छ । यस्तै, स्वास्थ्य उपचार शोधभर्नाबापत पाँच हजार सात सय ३६ जनालाई ३४ करोड ६५ लाख रुपैयाँ र विशेष आर्थिक सुविधाबापत निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई करिब ७० लाख रुपैयाँ प्रदान गरिएको कोषले जनाएको छ । हाल कर्मचारी सञ्चय कोषमा पाँच लाख ७५ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ८० हजार चार सयको सङ्ख्यामा निवृत्तिभरण कोषका योगदानकर्ता रहेका छन् ।