काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेसनले रोजगारीमूलक नयाँ वेबसाइट सुरु गरेको छ । वेबसाइटले विद्यार्थीलाई आफूसँग मेल खाने रोजगारी अवसर खोज्न सहज बनाउनेछ ।
कम्पनीहरूलाई आवश्यक दक्षता उल्लेख गर्दै जागिरको अवसर प्रकाशित गर्ने सुविधा पनि यस वेबसाइटले प्रदान गर्ने जनाइएको छ । साथै, विद्यार्थीले आवश्यक सिप अभाव महसुस गरेमा वेबसाइटमै उपलब्ध सिपमूलक पाठ्यक्रमहरू पूरा गरेर आफूलाई रोजगारीका लागि योग्य बनाउन सक्नेछन् । वेबसाइटमै अन्तर्वार्ताको तयारी पनि गर्न सकिनेछ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनको मैतिदेवीस्थित क्याम्पसमा आयोजित ‘इम्पावरिङ फ्युचर्स’ कार्यक्रममा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले सो वेबसाइट (इभल्भटुडे डट इन्फो) सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा मन्त्री भण्डारीले रोजगारी र सिपको महत्वबारे चर्चा गर्दै कलेजको यो कदम शिक्षा र उद्योगबीचको दूरी घटाउने महत्वपूर्ण पहल भएको बताए । यस प्रकारको कार्यक्रमले रोजगारी खोजिरहेका व्यक्तिलाई सक्षम बनाउने, अवसरहरू प्रदान गर्ने तथा उज्ज्वल भविष्य निर्माण गर्न मद्दत गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बजारमा काम गर्ने कालिगढको कमी भएको भन्दै कामलाई ठूलो र सानो भनेर मूल्याङ्कन गर्ने प्रवृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए । उनले नयाँ वेबसाइट र यस किसिमका रोजगारीमूलक गतिविधिहरूले विद्यार्थीहरूलाई सही सिप, अवसर र उद्योगसँगको सम्बन्ध निर्माण गर्न सघाउने बताए । कार्यक्रममा आईटी क्षेत्रका साझेदार कम्पनीहरूलाई सम्मान समेत गरिएको थियो ।