वासिङ्टन । विश्वका सबैभन्दा धनी व्यक्तिहरुमध्ये सबैभन्दा धेरै अमेरिकाका नागरिक छन् । फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सन् २०२५को धनी व्यक्तिहरुको सूचीमा नौ सय दुई जना अर्बपतिहरु अमेरिकाका छन् । त्यसपछि चीनमा पाँच सय १६ जना (हङकङसहित) र भारतमा दुई सय पाँच जना छन् ।
यस वर्ष फोब्र्सको सूचीमा तीन हजार २८ जना अर्बपति सूचीकृत भएका छन् । जुन एक वर्षअघिको तुलनामा दुई सय ४७ ले बढी हो । यस्तै १० जना धनी व्यक्तिहरुमध्ये आठ जना अमेरिकी नागरिक छन् । दुई जनामध्ये एक जना फ्रान्सका र अर्को एक जना स्पेनका छन् ।
एलोन मस्क तीन सय ४२ अर्ब डलर सम्पत्तिसहित पहिलो नम्बरमा छन् । त्यसपछि दोस्रो नम्बरमा अमेरिकाकै मार्क जुकरबर्ग छन् । उनको नेटवर्थ दुई सय १६ बिलियन डलर छ । तेस्रो नम्बरमा दुई सय २५ बिलियन डलरसहित जेफ बेजोस छन् । ल्यारी एलिसन एक सय ९२ बिलियन डलरसहित चौथो नम्बरमा छन् । प्रान्सका बर्नार्ड अर्नाल्ट र उनको परिवार एक सय ७८ बिलियन डलर नेटवर्थ सहित पाँचौं नम्बरमा छन् ।
अमेरिकाकै वारेन बफेट एक सय ५४ बिलियन डलर नेटवर्थसहित छैटौँ नम्बरमा, अमेरिकाकै ल्यारी पेज एक सय ४४ बिलियन नेटवर्थसहित सातौँ नम्बरमा, अमेरिकाकै सर्गेई ब्रिन एक सय ३८ बिलियन सम्पत्तिसहित आठौँ नम्बरमा, स्पेनका अमानसियो ओर्टेगा एक सय २४ बिलियन सम्पत्तिसहित नवौँ नम्बरमा र अमेरिकाका स्टिभ बाल्मर एक सय १८ बिलियन डलरसहित दशौँ नम्बरमा छन् ।