बैंकक । थाइल्यान्डमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुस एकैठाउँमा बसेको देखिएको छ । यो बिम्स्टेक सम्मेलन अघि आयोजना गरिएको राज्य रात्रिभोजको अवसर थियो ।
नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सम्बन्ध राम्रो बन्न नसकिरहेको चर्चा चलिरहेको बेला एकैठाउँमा बसिरहेको देखिनुले दुई नेताबीच द्विपक्षीय भेटवार्ता हुनसक्छ । नेपालका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीको द्विपक्षीय भेटवार्ता हुने जानकारी गराएकी छन् ।
यस्तै गत वर्ष अगस्टमा बंगलादेशमा भएको विद्रोहपछि भारतीय प्रधानमन्त्री र बंगलादेशी सरकारका प्रमुखबीच पनि पहिलो पटक भेट भएको हो । युनुसले पदभार ग्रहण गरेदेखि नै भारत र बंगलादेशबीच राम्रो सम्बन्ध बन्न सकेको छैन ।
बिम्स्टेक बंगालको खाडीमा सीमाना रहेका सात देशहरुको क्षेत्रीय संगठन हो । यसको पूरा नाम ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बे अफ बंगाल इनिसिएटिभ’ हो । यो सन् १९९७मा गठन भएको थियो । सुरुमा चार देशहरु बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्ड समावेस थिए । पनि सन् १९९७ मा म्यानमार र सन २००४ मा भुटान र नेपाल समावेस भएका थिए ।