ठाकुरबाबा (बर्दिया) । मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताए । उनले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गरे ।
सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्य कानुनी रूपमा अब कुनै अवरोध नहुने प्रस्ट पार्दै उनले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको बताए ।
अध्यक्ष दाहालले दुई महिनाभित्र सत्य निरूपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले काम थाल्ने जानकारी दिँए । सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उनले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताए ।
उनले भने, “सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा विभिन्न जिल्लामा ऐतिहासिक बलिदान स्थलहरूमा पार्क निर्माण गरिनेछ । पीडित परिवारलाई राहत दिइनेछ, एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।” पार्टीको उक्त अभियान झापाबाट सुरु भई कञ्चनपुरसम्म पुग्ने छ ।