काठमाडौं । डेढ वर्षयता विश्वबजारमा सुनको मूल्य लगातार बढिरहेको छ । २०८० असोजमा अन्तर्राट्रिय बजारमा प्रतिआउन्स एक हजार आठ सय ६४ डलर रहेको सुनको मूल्य अहिले तीन हजार ३५ डलर पुगेको छ । नेपाली बजारमा पनि २०८० असोज १६ गते छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ रहेकोमा अहिले बढेर एक लाख ७६ हजार चार सय रुपैयाँ पुगेको छ ।
खासगरी रुस युक्रेन युद्ध र मध्यपूर्वमा इजरायल र हमासबीचको युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भयो । जसको कारण लगानीकर्ताले सुनचाँदीमा लगानी बढाए । सुनको माघ विश्वभर बढ्यो र मूल्य निरन्तर बढेर गएको छ ।
यस्तै, सामान्य अवस्थामा अमेरिकी डलर र सुनको मूल्यबीच नकारात्मक सम्बन्ध रहने गर्छ । यसको अर्थ अमेरिकी डलरको मूल्य बढ्दा सुनको मूल्य घट्छ भने डलरको मूल्य घट्दा सुनको मूल्य बढ्छ् । तर पछिल्लो समय डलरको मूल्यसँगै सुनको मूल्य पनि बढिरहेको छ । यस्तो हुनुको मुख्य कारण पनि रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्ध प्रमुख कारण हुन् । यसबाहेक चीनको केन्द्रीय बैंककले विश्व बजारबाट सुन खरिद गरेर आफ्नो भन्डार बलियो बनाउन खोजिरहेको छ । गत वर्ष मात्रै चिनियाँ केन्द्रीय बैंकले १७ दशमलव छ टन सुन खरिद गरेको थियो । यसले बजारमा सुनको माग बढ्न गई मूल्य पनि वृद्धि भएको देखिन्छ ।
गत शुक्रबार नेपालमा प्रतितोला छापावाल सुनको मूल्य एक लाख ७६ हजार चार सय रुपैयाँ थियो । प्रतितोला चाँदीको मूल्य पनि बढेर एक हजार आठ सय ७० रुपैयाँ पुगेको छ । प्रतितोला सुनमा व्यवसायीहरूले गहना बनाउँदा केही निश्चित प्रतिशत ज्याला र जर्ती कटाउने हुँदा अहिले बजारमा एक तोला सुन किनेर गहना बनाउँदा एक लाख ९० हजार रुपैयाँको हाराहारी पुग्छ । सुन महँगो बन्दै जाँदा नेपाली बजारमा खपत पनि घटिरहेको व्यवसायीहरू बताउँछन् । तर विवाह, ब्रतबन्धलगायतका क्रियाकलापमा सुनको प्रयोग हुने हुँदा त्यसको सिजनमा सुनका गरगहनाको माग उच्च हुनेगरेको छ ।
बैंकहरूले पनि ऋण प्रवाह गर्दा सुनचाँदीलाई सबैभन्दा विश्वासिलो धितोको रूपमा प्रयोग गर्दै आएका छन् । तथ्याङ्कअनुसार २०८१ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ६९ अर्ब २८ करोड ६० लाख रुपैयाँ कर्जा सुनचाँदी धितो राखेर प्रवाह गरेका छन् । सुनचाँदी धितो शीर्षकमा प्रवाह भएको यो कर्जा गत वर्षको सोही अवधिको तुलनामा १५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ बढी हो । २०८० माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५३ अर्ब ३२ करोड रुपैयाँ प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरूले मात्रै २०८१ माघसम्म सुनचाँदी धितोमा ६३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १५ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बढी हो । २०८० माघसम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ४८ अर्ब ५२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले पनि २०८१ माघसम्म सुनचाँदी धितोमा चार अर्ब ३६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ६१ करोड ७० लाख रुपैयाँ बढी हो । गत वर्ष माघसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा तीन अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा २०८१ माघसम्म एक अर्ब चार करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा ४० लाख रुपैयाँ कम हो । गत वर्ष माघसम्म फाइनान्स कम्पनीहरूले एक अर्ब चार करोड ७० लाख रुपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका थिए ।