काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहमा मन्त्री भण्डारीले नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको बताए ।
जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाकजस्ता क्षेत्रलाई निर्यातमुखी बनाउनुपर्नेमा उनले जोड दिए । ‘नेपाली उत्पादनहरूको प्रवर्द्धनमा संघले अग्रणी भूमिका खेल्न सक्छ, नेपाली वस्तु तथा सेवाको विविधीकरण, गुणस्तर सुधार र ‘ब्रान्डिङ’मा जोड दिनुपर्छ’, उनले भने, ‘चिनियाँ बजारमा नेपाली उत्पादनको पहुँच बढाउन सरकारका तर्फबाट विभिन्न व्यापार मेला तथा प्रदर्शनीमा सहभागितालाई प्रोत्साहन गरिँदैछ ।’ उनका अनुसार चीनसँगको व्यापारमा नेपाली व्यवसायीलाई सहजीकरण गर्न विदेशी विनिमय नीतिमा केही लचकता ल्याइएको छ । चिनियाँ भाषा, व्यापारिक संस्कृति र प्रक्रियाबारे जानकारी दिन विभिन्न तालिम कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल–चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको बताए । यस्तै, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल–चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी–केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको जानकारी दिए । साथै, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको उनको भनाइ थियो ।
यस्तै, उनले कोरला, हिल्सा, किमाथांका, ओलाङचुङगोला जस्ता नाकाको विकासका लागि पनि सरकारले कार्ययोजना तयार पारेको बताए । चीनसँगको व्यापारलाई सन्तुलित, दिगो र पारस्परिक लाभदायक बनाउन सरकारी र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए । ‘सरकार सधैँ निजी क्षेत्रको साथमा छ र हामी मिलेर नेपालको व्यापार क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सक्छौँ’, उनले भने । मन्त्री भण्डारीले संघले स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा तय गरेर यहाँसम्म आइपुग्दा नेपाल–चीन द्विपक्षीय व्यापार अभिवृद्धि, जनसमुदायबीचको सम्बन्ध सुदृढीकरण तथा औद्योगिक सम्बन्ध प्रवद्र्धनमा अतुलनीय योगदान प्रदान गर्दै आएको बताए ।
सरकारी निकायसँगको समन्वयमा वाणिज्य कूटनीतिलाई बढावा दिन संघले महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री भण्डारीको भनाइ थियो । चीनका विभिन्न प्रान्त र सहरमा नेपाली उत्पादनको पहुँच बढाउन व्यापारिक ‘मिसन’, प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम आयोजना गर्न सकिने उनले बताए । यस्तै, उनले सरकारलाई व्यापारसम्बन्धी नीति निर्माणमा व्यावहारिक सुझाव दिन संघले निरन्तर अध्ययन, अनुसन्धान र छलफल गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘चिनियाँ व्यापारिक सङ्घसंस्थासँग समन्वय र सहकार्य बढाउनुपर्छ, चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गर्न पनि सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।’