काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको नेप्सेले जानकारी दिएको छ ।
भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका थिए । ‘अहिले पुँजीबजारमा ६५ लाख लगानीकर्ता पुगिसकेका छन्,’ भेटमा उनले भने, ‘उनीहरूले वषौँदेखि टीएमएसको मोबाइल एप नहुँदा समस्या भोग्दै आएका छन् । तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनुपर्छ ।’ साथै, तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजीकरणका साथै उनीहरूको हितमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी आफू निजी क्षेत्रबाट आएकाले उनीहरूको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । ‘मैले नेप्सेको गतिविधिबारे दैनिकरूपमा जानकारी लिइरहेको छु,’ उनले भने, ‘निकट भविष्यमा तपाईंहरूले देख्नेगरी सुधारका कामहरू अघि बढाउने छु ।’
कार्यक्रममा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाललगायतको उपस्थिति रहेको थियो ।