काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’ को घोषणा गरेको छ ।
यो पहलले नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि सहयोग गर्ने जनाइएको छ । विश्व जलचर जनावर दिवस अर्थात् वर्ल्ड अक्वाटिक एनिमल डेको अवसरमा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रममा कम्पनीले सो प्रोजेक्ट औपचारिकरूपमा सार्वजनिक गरेको हो । यसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद् र सामुदायिक अगुवाहरूलाई एकै स्थानमा ल्याउने छ । गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर तीन हजार पाँच सयभन्दा कम संख्यामा मात्र रहेका छन् ।
सन् २०१६ मा गरिएको सर्वेक्षणअनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा नौ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ । नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ । बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बिचको उल्लेखनीय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।
सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन विषयमा प्यानल डिस्कसन समेत आयोजना गरिएको थियो । यस्तै, कार्यक्रममा वन्यजन्तु संरक्षणमा दशकौं लामो योगदानका लागि ‘गुलेली बाजे’ को नामले परिचित ९१ वर्षीय भोजराज श्रेष्ठलाई सम्मान गरिएको थियो । उनले डल्फिन संरक्षण कार्यका लागि नेपालमै पहिलो प्रयासको नेतृत्व गरेका थिए । यस्तै, कार्यक्रममा बालबालिकामा सचेतना जगाउने उद्देश्यले बाल पुस्तक ‘डल्फिनको सपना’ समेत लोकार्पण गरिएको थियो । अनुराधाद्वारा लिखित र प्रकाश रञ्जितद्वारा चित्रित सो पुस्तक साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको विद्यालय सचेतना अभियानको एक भाग हो । सो पुस्तकको कभर बीवाईडीका ब्रान्ड एम्बेसडर हरिबंश आचार्य र लिड नेपालका अध्यक्ष अनिल केशरी शाहले सार्वजनिक गरेका थिए ।
इलेक्ट्रिक मोबिलिटीमा बीवाईडी डल्फिन ईभीले गरिरहेको नवप्रवर्तनलाई नेपालको संरक्षण प्रयाससँग मिलाएर सीबीसीएफ प्रोजेक्ट डल्फिनले दिगो विकास र वन्यजन्तु संरक्षणमा बीवाईडी एक कदम अगाडि बढेको देखाएको छ । नयाँ प्रविधि र संरक्षणलाई जोड्ने कार्यमा अर्थपूर्ण पहल गर्ने कार्यलाई भविष्यमा समेत अझै बढावा दिने कार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन सदैव प्रतिबद्ध रहने जनाइएको छ ।