लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि हुने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नारासाथ लेखा व्यवसायीको सम्मेलन आयोजना गर्न लागेको हो ।
कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तक्र्रिया हुने आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पूरकसहित कुल सात सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता र जवाफदेहिता प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आइक्यानले जानकारी दिएको छ । सम्मेलनले लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पु¥याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । सात सेसनमा ३५ वक्ता सहभागी हुनेछन् । चार जनाले प्रस्तुति दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधि समेत उपस्थित हुने आयोजकले जनाएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान छ ।
उद्घाटन कार्यक्रममा आइक्यान अध्यक्ष प्रविनकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलन उद्घाटनपछि पहिलो सेसन सुरु हुनेछ । पहिलो सत्रमा सार्वजनिक वित्तीय व्यवस्थापनको नवीनता तथा विश्वव्यापी प्रवृत्ति र नेपालमा कार्यान्वयन स्थितिबारे छलफल हुनेछ । यस्तै, दोस्रो सत्रमा दिगो अर्थतन्त्र र सार्वजनिक वित्तीय व्यवस्थापनमा भइरहेका पहल एकीकृत गर्ने गरी परामर्श हुनेछ भने तेस्रो सत्रमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार तथा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहने छ । चौथो सत्र वैदिक साहित्य र वित्तीय अनुशासन, पाँचौँ सत्र ‘स्वस्थ जीवनका लागि स्वस्थ आहार’ र छैटौं सेसनमा ‘रणनीतिक कर सुधार ः लचिलो कर प्रणालीमा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन’ का विषयमा छलफल हुनेछ । अन्तिम तथा सातौँ सेसनमा लचिलो कर निर्माणमा लेखा व्यवसायीको भूमिकामा केन्द्रित रहने जनाइएको छ ।