काठमाडौं, नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ । गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको उनको सचिवालयले जानकारी दिएको छ ।
गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन भएको छ । तर उक्त समितिले नयाँ अर्थात् राष्ट्र बैंकको १८ गभर्नर नियुक्त गर्न ढिलाइ गरेपछि अर्थमन्त्रालयले भावी गभर्नरको दौडमा रहेकी ढुङ्गानालाई तत्कालको लागि कामु गभर्नरको जिम्मेवारी सुम्पिएको हो ।
तत्कालीन गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरी आइतबार बिदा भएसँगै सरकारले ढुङ्गानालाई कायममुकायमको जिम्मेवारी दिएको हो । २०७६ चैत २५ मा नेपाल राष्ट्र बैंकको गभर्नरको पदभार सम्हालेका अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बिदा भएका हुन् । उनी आइतबार सार्वजनिक बिदा भएका कारण शुक्रबार नै राष्ट्र बैंकबाट बिदा भएका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैत २४ मा उनलाई गभर्नरमा नियुक्ति गरेको थियो ।