काठमाडौं । नेपालमा अहिले भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति भारतको कुनै विमति नरहेको काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । नेपालमा अहिले राजतन्त्र पक्षधरहरूले भारत पनि नेपालमा राजासहितको हिन्दु देश भएको हेर्न चाहन्छ भनेर प्रचार गरिरहेको बेला नेपाल र भारतका नेताहरूले त्यसमा कुनै सत्यता नभएको भन्दै भारत नेपालको आन्तरिक मामिलामा तटस्थ रहेको बताएका हुन् ।
गणेशमान सिंह फाउन्डेनले सोमबार राजधानीमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान विषयक विचार गोष्ठीमा सहभागी नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरूले अहिले केही प्रतिक्रियावादीहरूले गरेको हल्लालाई बेवास्ता गर्दै नेपाल र भारतबीचको सम्बन्धमा थप सुधारमा जोड दिएका हुन् ।
कार्यक्रममा भारतबाट बहुजन समाजवादी पार्टीका वरिष्ठ नेता सोधेन्द्र भदौरिया र भारतका पूर्वसांसद केसी त्यागी सहभागी भएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्ने बताए । नेपालले भारतसँग आशा राख्नु स्वाभाविक रहेको भन्दै उनले नेपाल भारतको विपक्षमा नभएको पनि प्रष्ट पारे । कार्यक्रममा उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल र भारतबीचको सम्बन्ध राम्रो राख्दा दुवै देशको हित हुने बताए । नेपाल र भारतबीचको सम्बन्ध सन्तुलित र मजबुत बनाउनुपर्नेमा जोड दिए ।
‘नेपाल र भारतमा सरकार जुनसकै पार्टीको होस् । दुवै देशबीच आपसमा सम्बन्ध सन्तुलित र मजबुत राख्यो भने दुवै देशलाई हित हुने कुरा हामीले जोड गर्नुपर्छ,’ उनले भने । फाउन्डेसनका अध्यक्ष समेत रहेका सिंहले ०४६ सालको जनआन्दोलनमा चन्द्रशेरजीको भूमिकाको चर्चा गरे । उनले भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय चन्द्रशेखरजी र ०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहबीच राम्रो सम्बन्ध रहेको बताए । उपप्रधानमन्त्री सिंहले ०४६ सालको जनआन्दोलनको माहोल तताउन चन्द्रशेखरजीको मन्तव्यले धेरै ठूलो भूमिका खेलेको बताए । चन्द्रशेखर प्रधानमन्त्री भएर नेपाल भ्रमणमा आउँदा पनि तत्कालीन समयमा स्थानीय जनप्रतिनिधि नभएका बेला सर्वदलीय समिति बनाएर दशरथ रंगशालामा नागरिक अभिनन्दन गरेको दिनको पनि सिंहले स्मरण गरे ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले चाक्सीबारी लोकतन्त्रवादीका लागि तीर्थस्थल भएको बताए । ‘चन्द्रशेखरजी आउनुभयो । त्यो समय हामी काहीँ–कतै बैठक गर्न सक्ने अवस्थामा थिएनौँ । चाक्सीबारीमै बैठक गरिएको थियो,’ अध्यक्ष ठाकुरले भने, ‘जहाँबाट डेमोक्रेसीका लागि बिगुल फुकियो । चाक्सीबारीको नाम डेमोक्रेसीका लागि लडेकाहरूका लागि एक तीर्थस्थल समान छ ।’
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव समेत रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लोकतन्त्रको विकल्प खोजी हुन सक्छ भन्ने अनुमान नगर्न भारतीयहरूलाई आग्रह गरे । ज्ञवालीले लोकतन्त्रले दिएको सुविधा उपभोग गर्ने समूहलाई त्यहीरूपमा बुझ्न आग्रह गरे । ‘हाम्रोमा प्रजातन्त्र आएको केही वर्षमै सशस्त्र विद्रोहको सामना गर्नुपर्यो । प्रजातन्त्रका ३० मध्ये २० वर्ष ‘कन्फ्लिक्ट’मा र ‘पोस्ट कन्फ्लिक्ट’मा गएको छ,’ ज्ञवालीले भने, ‘नेपालमा लोकतन्त्रको विकल्पको खोजी भएको छैन । केही असन्तुष्टि आएका छन् । आवाज उठाउने अधिकार यही लोकतन्त्रले प्रदान गरेको हो ।’ साथै, उनले भारतका कतिपय मिडियामा गलत सूचना सम्प्रेषण भएको भन्दै त्यस्ता सूचनाबाट बचाउन उनले भारतीय नेताहरूलाई आग्रह गरे । नेपालको स्वतन्त्रतामा भारतीय नेताले दिएको नैतिक समर्थन र ऊर्जा सकारात्मक रहेको भन्दै उनले भारतीय स्वतन्त्रता संग्राममा बीपी कोइरालासहितको योगदान त्योभन्दा धेरै भएको चर्चा गरे ।
कार्यक्रममा बहुजन समाजवादीका वरिष्ठ नेता सोधेन्द्र भदौरियाले चन्द्रशेखरले नेपालमा सबैभन्दा बढी गणेशमान सिंहप्रति आदरभाव राख्ने गरेको बताए । भदौरियाले चन्द्रशेखरले गणेमान सिंहलाई नेपालको महात्मा गान्धीका रूपमा चर्चा गर्ने गरेको सुनाए । यस्तै, उनले लोकतान्त्रिक समावेशी संविधान बनाउनु ठूलो कुरा रहेको भन्दै जनताका रूपमा आफूहरू नेपालको समथमा रहेको बताए । त्यस्तै, भारतकै अर्का नेता केसी त्यागीले पनि नेपालका लागि गणेशमान सिंह भारतका लागि महात्मा गान्धीजस्तै रहेको बताए । यस्तै, उनले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । आर्थिक समृद्धिका लागि पनि दुई देशबीच सम्बन्ध हुनुपर्ने उनको भनाइ थियो ।
‘राजावादी आन्दोलनमा आफ्ना फोटो दुरुपयोग गरिएको योगी आदित्यनाथको गुनासो’
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको राजावादी आन्दोलनमा आफ्नो फोटो दुरुपयोग गरेको गुनासो गरेका छन् ।
योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको र व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको बताएका हुन् । गणेशमान सिंह फाउन्डेनले सोमबार राजधानीमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पु¥याउनुभएको योगदान विषयक विचार गोष्ठिमा नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सो कुराको जानकारी दिएका हुन् ।
कार्यक्रममा देउवाले नेपालका राजावादीको आन्दोलनमा भारतको कुनै संलग्नता नरहेको उल्लेख गरे । व्यवस्थाविरुद्धको आन्दोलनमा राजाबादीहरुले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो बोकेपनि फोटो बोकेको केही दिनमै आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको र व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको बताएको देउवाको दाबी छ । ‘यहाँ राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन गरेका थिए । मलाई थाहा छ, भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन छैन,’ देउवाले भने , ‘नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी नयाँ दिल्लीस्थित नेपाली दूतावासमै पुगेर आफ्नो प्रतिबद्धता राखिसक्नुभएको छ ।’
नेपालका राजावादीहरुले नेपालमा राजतन्त्र फिर्ता ल्याउने आन्दोलनमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो पुर्व राजा ज्ञानेन्द्रसंगै प्रर्दशन गर्ने गरेका छन् । नेपाललाई राजसंस्थासहितको हिन्दुराज्य बनाउन योगी आदित्यनाथको आफुरुलाई सहयोग रहेको राजावादीहरुले दाबी गर्ने गरेका छन् । तर सो दावीलाई पुर्वप्रधानमन्त्री देउवाले खण्डन गरिदिएका छन् । आदित्यनाथले नेपाली दुतावासमा नै पुगेर आफ्नो फोटो दुरुपयोग भएको गुनासो गरेको देउवाको दाबी छ ।