काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच–प्ले आज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुन लागेको छ ।
सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार राशि दुई लाख ५० हजार रहेको छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार हात पार्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार र पहिलो चरणमा हार्ने आठ खेलाडीले छ हजार हात पार्नेछन् । प्रतियोगिताको नियमानुसार नेपाल नम्बर एक गल्फर भुवन नगरकोटीले १६ औँ वरियताका पशुपति शर्मासँग खेल्नेछन् । यस्तै, दोस्रो बरियतामा रहेका गल्फर निरज तामाङ र १५ औँ वरीयताका सूर्य प्रसाद शर्माबीच पहिलो चरणको खेल हुनेछ । अर्को खेलमा तेस्रो वरीयताका दिनेश प्रजापतिको सामना १४ औँ वरीयताका रमेश अधिकारीले गर्नेछन् ।
चौथो वरीयताका रवि खड्का र १३ औँ वरीयताका टंकबहादुर कार्कीबीच खेल हुनेछ । यस्तै, १२ औँ वरियताका प्रदीप कुमार लामाले ५औँ वरीयताका सञ्जय लामाको सामना गर्नेछन् । यसैगरी छैटौँ वरीयताका जयराम श्रेष्ठ र ११ औँ वरीयताका तोरण विक्रम शाही, सातौँ वरीयताका रामे मगरले १०औँ वरीयताका दीपक मगर, तथा आठौँ वरीयताका धनबहादुर थापाले नवौँ वरीयताका भुवन कुमार रोक्कासँग खेल्ने तालिका रहेको छ । पहिलो चरणका विजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको लागि हुने प्रतिस्पर्धा १८ होलको हुनेछ । फाइनल भने ३६ होलको हुनेछ । पहिलो चरणको खेल मंगलबार हुनेछ भने क्वाटरफाइनल र सेमिफाइनल बुधवार, तथा फाइनल र तेस्रो स्थानको लागि विहिवार प्रतिस्पर्धा हुनेछ ।