काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान विस्तार गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल पर्यटन बोर्डले आयोजना गरेको विशेष अन्तर्क्रिया कार्यक्रममा मन्त्री पाण्डेले नेपालको पर्यटन विकासमा सरकारले गम्भीरताका साथ रणनीतिक योजना र नीतिहरू लागू गरिरहेको जानकारी दिए । ‘नेपाललाई विशिष्ट र प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढिरहेका छौं,’ उनले भने । कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रको हालको अवस्था, बजारको प्रवृत्ति, प्राथमिकतामा रहेका क्षेत्रहरू र आगामी प्रवर्द्धनात्मक योजनाहरूको बारेमा जानकारी दिए । उनले सेवास्तरमा सुधार, गन्तव्य व्यवस्थापनको सुदृढीकरण र पर्यटन उत्पादनको विविधीकरणमा जोड दिए ।