काठमाडौं । बुटवल पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले यसअघि फर्दर पब्लिक अफरेन्स (एफपीओ) जारी गर्ने तयारी गरेको भए पनि एफपीओलाई रद्द गरेर हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो ।
कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसअघि कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी तीन अर्ब ४० करोड ९० लाख ६४ हजार छ सय रुपैयाँ रहेको छ । हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशतका दरले कम्पनीले एक अर्ब ३६ करोड ३६ लाख २५ हजार आठ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।