काठमाडौं । नेपाललाई फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको अर्थ मन्त्रालयले जनाएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।
जिम्मेवार निकायहरू, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्ययोजना कार्यान्वयन गरिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्ययोजनाअनुसार काम गर्दैगर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई यसबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे ।
महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए । मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्ययोजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजनाअनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताइन् । बैठकमा सहभागीहरूले जोखिम मूल्याङ्कन, अन्तरनिकाय समन्वय, नियमन तथा सुरपरीवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए । नेपाल गत फागुन ९ गते एफएटीएफको ग्रे लिस्टमा परेको थियो ।