काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पाँचवर्षे कार्यकालको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले मंगलबार कार्यकाल सकिएछि आम्दानीसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन ।
उनी विसं २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त भएका थिए । सोअनुुसार उनको पाँचवर्षे कार्यकाल २०८१ चैत २४ गते आइतबार समाप्त भएको हो । सोही आधारमा निवर्तमान गभर्नर अधिकारीले मंगलबार आफू पदमा रहेपछि बढेको आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार उनको सम्पत्ति गभर्नर नियुक्त हुनुअघि तीन करोड ४५ लाख ९१ हजार आठ सय ५२ रुपैयाँ रहेकोमा २०८१ चैत २२ गते तीन करोड ६९ लाख ३६ हजार दुई सय ६२ रुपैयाँ रहेको देखिएको छ । अधिकारीले ३२ लाख रुपैयाँबराबरको घर, एक करोड आठ लाख रुपैयाँबराबरको १० कित्ता जग्गा देखाएका हुन् । उनले पाँच वर्षमा घर र जग्गा नथपेको विवरणमा उल्लेख छ । यस्तै बैंक मौज्दात तथा सञ्चय कोष शीर्षकमा उनले २८ लाख ४४ हजार दुई सय १२ रुपैयाँ र एक करोड ८९ लाख ४९ हजार नौ सय रुपैयाँबराबर लगानी म्युचुअल फन्ड तथा विभिन्न धितोपत्रमा रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।
निवर्तमान गभर्नर अधिकारीले आफूसँग नौ लाख ८८ हजार रुपैयाँबराबर सुनचाँदी तथा नगद देखाएका छन् भने खुद प्राप्त हुनुपर्ने रकममा भने २४ लाख नौ हजार नौ सय २३ रुपैयाँले ऋणात्मक रहेको विवरण पेस गरेका छन् । योबाहेक १० लाख तीन हजार रुपैयाँबराबरको सवारीसाधन रहेको देखाएका उनले अन्य सम्पत्ति शीर्षकमा भने १५ लाख १० हजार रुपैयाँ रहेको देखाएका छन् । उनले विभिन्न वाणिज्य बैंकहरूमा भएको रकममा २८ लाख ४४ हजार दुई सय १२ रुपैयाँ रहेको देखाएका छन् । गभर्नर पदमा नियुक्त हुनुअघि उनको यस्तो रकम १३ लाख ८८ हजार तीन सय ६२ रुपैयाँ रहेको थियो । विवरणअनुसार निवर्तमान गभर्नर अधिकारीको तीन करोड ६९ लाख ३६ हजार दुई सय ६२ रुपैयाँबराबरको कुल सम्पत्ति रहेको छ । पाँच वर्षअघि उनको यस्तो सम्पत्ति तीन करोड ४५ लाख ९१ हजार आठ सय ५२ रुपैयाँ रहेको थियो ।