काठमाडौं । बारा जिल्लाको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतिसहित पाँच जनाको मिलेमतोमा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा भ्रष्टाचार भएको देखिएपछि मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।
अख्तियारका अनुसार कलैया उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ को लागि सेनिटरी प्याड खरिदमा अनियमितता गरेको भेटिएको छ । उक्त अनियमिततामा कलैया उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रहलादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफले सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहसँगको मिलोमतोमा भ्रष्टाचार गरेका हुन् ।
आर्थिक वर्ष २०७७।०७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद नियमावली एवं सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि पालना नगरी/नगराई २०७७ मंसिर १९ गतेको टिप्पणी निर्णयबाट सेनिटरी प्याडको अस्वाभाविक मूल्य प्रतिप्याकेट ७९ रुपैयाँ १ पैसा कायम गरी लागत इस्टिमेट स्वीकृत गराएका थिए ।
कर्मचारीसहितको आपसी मिलेमतोमा एकै परिवारको नाममा रहेका तीन फरक फर्महरूको बोलपत्र पेस गरी/गराई प्रतिप्याकेट सेनिटरी प्याडको मूल्य ७८ रुपैयाँ कायम गरी ठेक्का दिएको थियो भने आव २०७८/७९ मा सोही कम्पनीको सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेट २४ मा खरिद गरेको देखिएकोले पछिल्लो वर्षभन्दा अघिल्लो वर्ष प्रतिप्याकेटमा ५४ रुपैयाँको दरले ९६ हजार दुई सय ८० प्याकेटको ५१ लाख ९९ हजार एक सय २० रुपैयाँ बढी भुक्तानी गरेका थिए ।
मिलेमतोमा खरिद गरेर उक्त रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रतिवादीहरू प्रहलादप्रसाद वर्णवाल, विजय अधिकारी, राजेश ठाकुर हजाम र दिव्या सर्राफको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (क), (ङ) र (ञ) बमोजिमको कसुर भएको हुँदा उनीहरूलाई बिगो ५१ लाख ९९ हजार एक सय २० रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना सजाय गरी बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
सागर देवी फर्मा, हेटौंडा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहले कर्मचारीसँगको मिलोमतोमा आव २०७७/०७८ को लागि सेनिटरी प्याड खरिद गर्दा प्रतिप्याकेटमा ५४ को दरले ९६ हजार दुई सय ८० प्याकेटको जम्मा ५१ लाख ९९ हजार एक सय बीस रुपैयाँ बढी भुक्तानी लिएको देखिएकोले प्रतिवादीहरू सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (ङ) र (ञ) बमोजिमको कसुरको नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुरमा बिगो ५१ लाख ९९ हजार एक सय २० रुपैयाँ कायम गरी मुख्य कसुरदारहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना सजाय गरी बिगो असुलउपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।