काठमाडौं । सरकारले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
यस्तै सरकारले यही चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी वैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८औँ दक्षिण एसिया ऊर्जा सचिवालयको गोलमेच कार्यक्रममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा)लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले रातो मच्छिन्द्रनाथको रथयात्रा (भोटो देखाउने जात्रा) र मिननाथ रथयात्राका लागि छ सय ६५ दशमलव ९७ क्यू फिट काठ गुठी संस्थानलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । साथै, गृह मन्त्रालय तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी सरकारले २०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म जापानको राजधानी टोकियोमा आयोजना हुने एसिया प्यासेफिक टेलीकम्युनिटी बैठकमा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङलाई स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले डँडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र वडा नं ४ बगरकोटबाट परिवर्तन गरी वडा नं ४ टप्वा कायम गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।