दोलखा । जिल्लाभित्र रहेका रहेका अधिकांश सामुदायिक विद्यालयको नतिजा निराशाजनक देखिएको छ । यहाँका गाउँपालिकाहरूले सार्वजानिक गरेको शैक्षिक शत्र २०८१ को गाउँपालिकास्तरीय आधारभूत शिक्षा– कक्षा ८ को वार्षिक परीक्षाको नतिजा निराशाजनक देखिएको हो । नौ स्थानीय तह रहेको दोलखामा केही पालिकाहरूले नतिजा प्रकाशित गरेका छन् । नतिजा प्रकाशित पालिकाहरूमध्ये बिगु गाउँपालिको नतिजा सबैभन्दा निराशाजनक देखिएको छ । यहाँका कुल १२ वटा विद्यालयबाट दुई सय ३५ विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी भएकोमा ८० प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी दुई सय ३५ मध्ये ४८ जना विद्यार्थी मात्रै मुस्किलले उत्तीर्ण भएका छन् । परीक्षामा चार वटा विद्यालयको नतिजा नील रहेको छ भने बाँकी आठ विद्यालयको नतिजा पनि चिन्ताजनक रहेको छ । पालिकाको वडा नम्बर–२ को देवलिङ्गेश्वर मावि, वडा नम्बर–४ रहेकोे शान्ति आदर्श मावि, वडा नम्बर–८ को हिमालय मावि र कालिञ्चोक माविको नतिजा शून्य रहेको छ ।
यता शैलुङ गाउँपालिकाको पनि विद्यार्थी उत्तीर्ण संख्या न्यून रहेको पाइएको छ । परीक्षा सञ्चालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी सञ्चालन गरेको परीक्षामा एक सय २६ जना विद्यार्थी फेल भएका छन् । यस गाउँपालिका कक्षा ८ उत्तीर्ण गर्ने विद्यार्थी ४० दशमलव आठ प्रतिशत रहेको छ । यता जिल्लाको कालिञ्चोक र गौरीशंकर गाउँपालिकाका विद्यालयको नतिजा भने गत वर्षको तुलनामा सन्तोषजनक रहेको देखिएको छ । कालिञ्चोक गाउँपालिकाबाट गत वर्ष ६० प्रतिशतमाथि विद्यार्थी परीक्षामा अनुत्तीर्ण भएकोमा यस वर्ष भने ५८ प्रतिशत विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् ।
यस गाउँपालिकामा रहेका १८ वटा विद्यालयबाट पाँच सय ३५ जना विद्यार्थी परीक्षामा सामेल थिए । सोमध्ये तीन सय ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने एक सय ५९ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा यहाँका विद्यालयको नतिजामा सामान्य सुधार भएको छ । त्यसैगरी पालिकाहरूले सार्वजनिक गरेको नतिजाअनुसार गौरीशंकर गाउँपालिकाको नतिजा उत्कृष्ट रहेको देखिएको छ । यस गाउँपालिकाका १२ वटा विद्यालयबाट दुई सय ३२ जना विद्यार्थी परीक्षामा सहभागी बनेका थिए । यहाँका एक सय ७६ जना विद्यार्थी परीक्षामा उत्तीर्ण भएका छन् भने ५६ जना विद्यार्थी मात्रै अनुत्तीर्ण भएको देखिएको छ । यहाँका विद्यालयको विद्यार्थी उत्तीर्ण प्रतिशत ९५ दशमलव ६५ प्रतिशत रहेको छ । त्यसैगरी गौरीशंकरका चार विद्यालयबाट शत प्रतिशत विद्यार्थी उत्तीर्ण गर्दा अन्य आठ विद्यालयबाट पनि ८० प्रतिशतमाथि विद्यार्थी उत्तीर्ण भएको गौरीशंकर गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहहरूले भने अझै नतिजा सार्वजनिक गरेका छैनन् ।