देशकै केन्द्रीय राजधानी काठमाडौं उपत्यका लामो समयदेखि विभिन्न रोगको प्रमुख स्रोतका रूपमा परिणत भएको छ । अस्पतालहरू भरिभराउ हुन थालेका छन् भने चिकित्सकहरूले यहीरूपले रोगबढे धानिनसक्नुको अवस्था आउने भनेर चेतावनी दिइरहेका छन् । यसको मूलकारण वायु प्रदूषण नै हो । यद्यपि यो काठमाडौं मात्रै होइन छिमेकी देश भारतको दिल्ली पनि योभन्दा बढी प्रदूषित रहेको बताइएको छ । दिल्ली पहिलेदेखि नै यो अवस्थामा रहँदै आउने गरेको थियो । काठमाडौं भने केही वर्षदेखि यो चपेटामा पर्न थालेको हो, जो केही समयमा नै संसारकै पहिलो प्रदूषित सहर भनेर थोरै समयमा धेरैपटक नाम लेखाइसकेको छ । सरकार रोकथामभन्दा सूचना दिने निकायजस्तो मात्र भएको देखिन्छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह मात्रै गरेको पाइन्छ । उसको भनाइमा अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ । मास्कको प्रयोग त बुझ्न सकिन्छ तर घरबाट बाहिर ननिस्कन दिइएको सुझाव कति व्यावहारिक र आम नागरिकले कसरी धान्लान् भन्ने खालको छ ।
विश्व वायु प्रदूषण मापन केन्द्र आईक्युएयरको विवरणअनुसार यतिबेला काठमाडौं पहिलो नम्बरमा छ । यसको एक्युआर्ई एब सय ८२ रहेको छ भने दोस्रोमा बंगलादेशको ढाकाको एक्युआर्ई एक सय ६० रहेको देखिन्छ । उक्त संस्थाका अनुसार गएको हप्ताभर वायु प्रदूषणमा नेपाल उच्च एक्युआईसँगै पाँचौं स्थानको वरपर नै रह्यो । यो इन्डेक्समा सन् २०२१ मा ६० एक्युआईसँगै ४२ औँ स्थानमा रहेको नेपाल वायु प्रदूषण उच्च भएसँगै २०२२ मा एक सय ४० एक्युआईसँगै तेस्रो स्थानमा उक्लिएको थियो भने २०२३ मा एक सय २४ एक्युआईसँगै तेस्रो स्थानमा थियो । वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वथ्य, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथिले वायुको गुणस्तर खतरनाक तह पुगेको बताउँछ । विभागले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआर्ईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रूपमा लिने भनेको छ । यो विवरणलाई हेर्दा हिजोआजका दिन काठमाडौं सहर जोखिमको हिसाबले निकै नै उच्च ठाउँमा पुगेको देखिन्छ ।
यो कति खतरनाक छ भने थाहै नपाई ज्यानै पनि जान सक्छ । वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्युएयरका अनुसार विश्वमा वायु प्रदूषणका कारण वर्षेनि करिब ७० लाख मानिसको ज्यान जाने गरेको छ । यो भनेको एक प्रकारको महामारी नै हो । वर्षमा करिब एक करोड मान्छेले ज्यान गुमाउने गरेको अवस्था निश्चय नै सामान्य होइन । विभिन्न अध्ययनले अप्रिल महिनालाई सबैभन्दा बढी प्रदूषित देखाएका छन् । यो महिना सकिन अझै धेरैदिन बाँकी नै छ । विज्ञका सुझावमा अप्रिल अझै बाँकी भएकाले सरकारका निकाय थप सजग हुनु आवश्यक छ । तर यता सरकार भने योजना र छलफलमा नै केन्द्रित रहेकोजस्तो देखिन्छ । प्रदूषणले जब महामारीको रूप लिन्छ भने त्यसबाट जोगिनका लागि तयारी पनि त्यहीरूपमा हुनुपर्छ । तर त्यस्तो भएको देखिँदैन । अरूअरू विपद्को चर्चा धेरै हुन्छ तर प्रदूषणबाट पुग्ने क्षतिलाई महत्व दिएकोजस्तो बुझिँदैन । के गर्दा यस्तो प्रदूषण रोकिन्छ वा बढ्दैन भन्ने चेतनामूलक प्रचार पनि भएको पाइँदैन । यो भनेको प्रदूषणलाई घातक महामारी नमानेको अवस्था हो । यसतर्फ सरकारको ध्यान जाओस् ।