काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनःजागरण गर्न गुरुकुल लाग्नुपर्नेमा जोड दिएका छन् ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित कान्ति भैरव गुरुकुलले मंगलबार आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’को शुभारम्भ गर्दै उनले गुरुकुलकालीन शिक्षाका माध्यमबाट दार्शनिक चाणक्यले मानिसलाई ब्युँझाएझैँ भूमिका अहिलेका गुरुकुलले खेल्नुपर्नेमा जोड दिएका हुन् । नेपालको संस्कृति र प्रकृति विश्वलाई देखाएर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने बताउँँदै मन्त्री पाण्डेले त्यसतर्फ मन्त्रालयले काम गरिरहेको जानकारी दिए । ‘संस्कृत विश्वविद्यालय जुन उद्देश्यका लागि स्थापना भएको हो, त्यसअनुसार काम हुन सकेन कि भनी चर्चा चलिरहेको छ, राज्यका अन्य निकायले पनि जनभावनाअनुसार काम गर्न नसकेकाले काममा सुधार गर्न सबैको सहयोग आवश्यक पर्छ, संस्कृत विश्वविद्यालय भौतिक सम्पत्ति भएको संस्था हो, त्यसको सदुपयोग गरिनुपर्छ, पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रुपमा स्थापित गर्न गृहकार्य भइरहेको छ’, उनले भने ।