बेइजिङ । अमेरिका र चीनबीच कर वृद्धिको विषयले गर्दा व्यापार युद्धको सम्भावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत कर फिर्ता नलिए बुधबारदेखि थप ५० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।
त्यसपछि चीनले अमेरिकाले आफूमाथि लगाएको करलाई अझ बढाउने धम्की दिएर एकपछि अर्को गल्ती गरिरहेको बताएको छ । यो धम्कीले अमेरिकाको ब्ल्याकमेलिङ मनोवृत्तिलाई उजागर गरेको चीनले बताएको छ । अमेरिकाले आफ्नै इच्छाअनुसार कर वृद्धिलाई जोड दिँदै गएमा आफू पनि लड्न तयार रहेको चीनले चेतावनी दिएको छ ।
चीनले अमेरिकी करका कारण आफूमाथि कुनै आकाश नखस्ने भन्दै व्यापार युद्धका लागि तयार रहेको जनाएको छ । ‘यदि व्यापार युद्ध भयो भने, चीन पूर्णरूपमा तयार छ र त्यसबाट अझ बलियो भएर निस्कनेछ ।’ चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र द पिपल्स डेलीले आइतबार एक टिप्पणीमा लेखेको छ, ‘अमेरिकी करको प्रभाव निश्चितरूपमा पर्नेछ, तर आकाश खस्नेछैन ।’
चीनको विदेश मन्त्रालयले विश्वको दोस्रो ठूलो अर्थतन्त्र र उपभोक्ता बजारको रुपमा अन्तर्राष्ट्रिय परिस्थितिहरु परिवर्तन भए पनि विश्वका लागि आफ्नो ढोका खुला राख्ने जनाएको छ ।
चिनियाँ वाणिज्य मन्त्रालयका उपमन्त्री लिङ जीले आइतबार अमेरिकी कोष प्राप्त गर्ने २० वटा कम्पनीका प्रतिनिधिहरुलाई भेटेर चीन सम्भावनाको देश भएको सन्देश दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकासँग बदला लिने कुनै पनि देशले तुरुन्तै सुरुमा तोकिएको भन्दा नयाँ र धेरै उच्च शुल्कको सामना गर्नुपर्ने चेतावनी दिइरहेका छन् ।