वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ ।
नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो । नगरपालिकाका एक हजार छ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजनासहित सुरु गरिएको परियोजनाअन्तर्गत हाल एक हजार तीन सय जना घर परिवार आबद्ध भइसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिए । साना किसानको गोठ सुधार, बाख्राको नश्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरणलगायतका विषयमा काम परियोजनाले गर्दै आएको छ ।
नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठकमा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले कार्यक्रम सुरु भएको छोटो अवधिमा नै उत्कृष्ट काम गर्न सफल भएको बताए । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिकरूपमा सबल र सक्षम हुने उल्लेख गर्दै उनले पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिकरूपमा सबल बनाउने काम गरिरहेको बताए । कार्यक्रममा सहभागी वडाध्यक्षहरूले परियोजनालाई १४ वटै वडामा विस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडाध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताए ।