कञ्चनपुर । महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध)को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ । गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) भत्काएको थियो ।
उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन । बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ । महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए । बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन् । स्थानीय समयमै बाँध निर्माणका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
‘बर्खाको समय आइसक्यो अहिले पनि बाँध निर्माण गर्ने कुनै सुरसार छैन’, भीमदत्त–१२ का स्थानीय कृष्णसिंह देउवाले भने, ‘समयमा बाँध बनेन भने यहाँका पाँच बस्तीका करिब पाँच हजार मान्छे विस्थापित हुन्छन् ।’ उनले बस्ती मात्रै नभई महाकाली पुल जोड्ने पहुँच मार्ग समेत बाढीको जोखिममा रहेको बताए । दोधारा चाँदनीलाई जोड्ने गरी निर्माण भएको चार लेनको पक्की पुलसँगैको बाँधको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निमार्णको काम ठप्प रहेको महाकाली पुल निर्माण कम्पनीले जनाएको छ । पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) निमार्णका लागि सुरुमा २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गाको प्रयोग गरेर पुलको दुवैतर्फका पोखरीको गाइडबन्ड बनाउने डिजाइन थियो ।
ठूलो ढुङ्गा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कङ्क्रिटको प्रयोग गरी बाँध निर्माण गरिएको थियो । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डयेले गत भदौमा आएको बाढीले २६० मिटर बाँध बाढीले भत्काएको बताए । ‘बाढीले बाँध भत्काएपछि महाकाली पुल योजना कार्यालय र विभागबाट गाइडबन्डको डिजाइन संशोधन गर्नुपर्ने भन्दै डिजाइन संशोधनको प्रक्रिया अघि बढेको थियो’, उनले भने, ‘हालसम्म उक्त समयमा डिजाइन स्वीकृत नहुँदा हामीलाई काम गर्न कठिनाइ भएको हो ।’ उनले स्वीकृत डिजाइन नआउँदासम्म काम गर्न नसकिने बताए ।
‘हामीले काम छिटो सम्पन्न गर्नका लागि कार्यालयलाई पटक–पटक ताकेता गरेका छौँ’, पाण्डेयले भने, ‘बर्खा नजिकिएको छ, त्यस अगावै हामीले बाँध निर्माण गर्न सकेनौँ भने अहिलेसम्म निमार्ण भएका सबै संरचना जोखिममा छन् ।’ महाकाली नदीमा निर्माण भएको आठ सय मिटर पुलको दुवैतर्फ दुई हजार सात सय मिटर लम्बाइ र ६०० मिटर चौडाइका पोखरी निर्माणाधीन छन् । पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ । अब दुई सय मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका अनुसार गत कात्तिक २२ मा आयोजनाको म्याद सकिएको छ ।
पाँचौँ पटक थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि निर्माण कार्य ठप्प बनेको हो । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले अहिले म्याद थपका लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए । ‘म्याद थप भएपछि मात्रै डिजाइन र भेरिएसनको काम हुन्छ अहिले म्याद थपको प्रक्रियामा छ,’ उनले भने, ‘अहिले निमार्णको काम ठप्प छ ।’ विसं २०७४ मा तीन वर्षभित्र निर्माण सक्ने गरी तीन अर्ब २७ करोड रुपैयाँमा कुमार श्रेष्ठ सीएफईसी जेभीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार आठ सय मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चार पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो । पाँचपटक म्याद थप हुँदा समेत सबै संरचना निर्माण हुन सकेका छैनन् । छैटौँपटक म्याद थपको प्रक्रियामा छ । सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत तीन अर्ब २७ करोड रुपैयाँ थियो । पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा लागत बढेर तीन अर्ब ७६ करोड पुगेको छ ।