विराटनगर, साउन १५
सरकारले उद्योगीलाई चिनी आयात गर्न नदिए साउन महिनादेखि कन्फेक्सनरी उद्योग बन्द हुने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको स्वामित्वमा रहेको साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सहुलियतमा चिनी आयात गर्न अनुमति दिनलागेको घोषणा गरेको भए पनि चिनी आपूर्ति नहुँदा औद्योगिक करिडोरका कन्फेक्सनरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूको भनाइ छ ।
सरकारले चिनी आयातको अनुमति दिनलागेको घोषणा गरेको चार हप्ता बितिसक्दा पनि अहिलेसम्म दुवै कम्पनीले चिनी आयातको अनुमति पाएका छैनन् । सरकारको ढिलासुस्ती देखेपछि सुनसरी मोरङ आद्योगिक करिडोरका व्यवसायीले स्वयं उद्योगीलाई नै विराटनगर नाकाबाट चिनी आयात गर्न खुला नगरे उद्योग नै बन्द हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । उद्योगीका अनुसार आयातकर्ता उद्योगी आफैँले भारतका कारखानामा चिनी ल्याउँदा प्रतिकेजी भारु २६ रूपैयाँ ५० पैसा पर्ने बताएका छन् ।
नेपालमा सरकारले चिनीको भन्सार मूल्यांकन भारु ३० रूपैयाँ कायम गरेको र भन्सार महसुल ४० प्रतिशत बुझाएर चिनी आयात गर्दा प्रतिकेजी ७५ देखि ७८ रूपैयाँमा गोदामसम्म आइपुग्ने उनीहरूको भनाइ छ । तर नेपालका चिनी उद्योगीहरूले एक सातादेखि चिनीको मूल्य प्रतिकिलो ८१ रूपैयाँ ५० पैसा बनाइसकेका छन् । अहिले विराटनगरको बजारमा चिनीको खुद्रा मूल्य नै ८४ रूपैयाँ भइसकेको छ । महंगो चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसकिने उद्योगीहरूले बताउँदै आएका छन् ।
साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न पाउ भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा निवेदन दिएका थिए । दुवै कम्पनीले अहिलेसम्म आयातको स्वीकृति पाएका छैनन् । जसले गर्दा सुनसरी मोरङ औद्योगिक करिडोरका कन्फेक्सनरी र जुस उद्योगहरू धरासायी बन्ने खतरा भएको उद्योगीहरूको भनाइ छ ।
उद्योगी एवं एसियन थाइफुड्सका सञ्चालक महेश जाजुले दिएको जानकारीअनुसार तीन वर्षअघि पाकिस्तानबाट नेपालमा चिनीको आयात ठूलो परिमाणमा भएको थियो । पाकिस्तानको सस्तो चिनीले नेपालका उद्योग र उखु कृषक मारमा परेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले चिनीको भन्सार मूल्यांकन भारु ३० रूपैयाँ र भन्सार महसुल ४० प्रतिशत बनाएका थिए । तर गत वर्ष नेपालमा चिनीको उत्पादन कम भयो, जसले गर्दा चिनीको अभाव हुन थालेपछि महंगो भन्सार मूल्य र महसुल तिरेर आयात गर्दा उत्पादन लागत नै बढ्नजाने भएपछि उद्योगीहरू आफैँ चिनी आयात गर्न नसक्ने अवस्थामा पुगेको जाजुले बताए ।
सिजन सुरु हुनुभन्दा ४ महिनाअगाडि नै उद्योगहरूमा चिनीको मौज्दात सकिएको भन्दै नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले नेपालका कुनै पनि चिनी उद्योगमा अब नयाँ बिक्रीका लागि चिनी नभएको जानकारी दिए । उनले केही उद्योगहरूमा अलिअलि भएको चिनी पनि बुक भइसकेको जानकारी दिए । अध्यक्ष शशिकान्तका अनुसार दुई वर्षअघि पाकिस्तानको सस्तो चिनी नेपालमा भित्रिएका कारण नेपालका उद्योगको उत्पादन समयमा बिक्री भएन । यसकारण किसानलाई भुक्तानी दिन ढिलो भयो । ढिलो भुक्तानी पाएपछि एक तिहाइभन्दा बढी किसानले उखु खेतीलाई निरन्तरता दिएनन् । त्यसैले गत वर्ष चिनीको उत्पादन घट्यो र अहिले यस्तो स्थिति आयो । उनले नेपालमा चिनीको वार्षिक खपत दुई लाख ५० हजार टन मात्र भएको र यस वर्ष ५० हजार टन चिनीको अभाव रहेको जानकारी दिए ।
चिनीको अभाव हुन थालेपछि सुनसरी मोरङ औद्योगिक करिडोरका बिस्कुट, कन्फेक्सनरी र जुस उद्योगहरू बन्दको अवस्थामा पुगेका छन् । साउनको मध्यदेखि नै उद्योगहरूलाई गाह्रो हुने उद्योगीको भनाइ छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा गुडलाइफ ब्रान्डमा बिस्कुट, जुस र कन्फेक्सनरीका उत्पादक महेश जाजूले आफ्ना ३ वटै उद्योगलाई गरेर दैनिक २५ टन चिनी आवश्यक पर्ने बताए । उनले भने, ‘पैठारीको चिनी प्रयोग गर्ने हो भने हामीले सबै उत्पादनको मूल्य बढाउनुपर्नेहुन्छ । त्यसैले सरकारले उद्योगहरूलाई सोझै २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्ने सुविधा दिनुपर्छ ।’
सुनसरी मोरङ औद्योगिक करिडोरमा क्वालिटी ब्रान्डमा बिस्कुट, स्न्याक्स र कन्फेक्सनरीका उत्पादन गर्दै आएका नवलकिशोर काबराले आफ्ना सबै उद्योगलाई दैनिक २० टन चिनी चाहिने बताए । उनले चिनी आपूर्तिकर्ताहरूले चिनी दिन नसक्ने भनी सकेको हुँदा चिनीको अभावमा साउनको अन्तिम हप्तादेखि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको जानकारी दिए । सरकारले यस्तो अवस्था आउन नदिन अहिले नै उद्योगी आफैँलाई आवश्यकताअनुसारको चिनी सुविधामा आयात गर्न दिने निर्णय सरकारले गर्नुपर्ने उनी बताउँछन् ।