काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बुधबार कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभालाई सम्बोधन गर्दै उनले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको बताए ।
सांस्कृतिक विधिता, साहसिक खेल पर्यटनलगायतका प्रचुर सम्भावना रहेको कोशी प्रदेशले सिङ्गै देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने उनको भनाइ छ । ‘कोशी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हो’, उनले भने, ‘यस पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोशी प्रदेशको मात्र होइन देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउन यसले पर्याप्त मात्रामा टेवा पुर्याउने र योगदान गर्नेछ ।’
त्यस्तै, उपप्रधानमन्त्री सिंहले २८ प्रकारको लालीगुराँस एकै ठाउँमा पाइने स्थलसम्म यहाँ रहेकाले त्यसको प्रचारप्रसार गरेर पर्यटकका लागि आकर्षण केन्द्र बनाउन आग्रह गरे । कोशी प्रदेशले प्रारम्भ गरेको पर्यटन वर्ष अरू प्रदेशका लागि पनि नमुनाका रूपमा रहने उनले बताए । यस्तै, उनले पर्यटकीय क्षेत्रमा सडकलगायतका पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताए । कार्यक्रममा उनले वर्तमान सरकारले जनतालाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गरे । यसैगरी सहरी मन्त्रालयले नेपालका नगरहरूलाई अझ व्यवस्थित, सुन्दर र सुविधा सम्पन्न बनाउने काम अघि बढाएको जानकारी दिए ।