बटुकनाथ झा
जनकपुरधाम, साउन १५
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले मन्त्रालयका तीन जना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि भएको बताएका हुन् । उनका अनुसार मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनेहरूमा मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगी रहेका छन् । सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको बताइएको छ ।
पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको सहनिर्देशक झाको भनाइ छ । यसैगरी बुधबार धनुषामा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १, ६,७, ९, १० का एक÷एकजना र गोपालधर्मशालास्थित क्वारेन्टाइनका ३ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
यसैगरी महोत्तरीमा १३, सप्तरीमा १, सर्लाही १ र पर्सामा ३४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । महोत्तरीमा फेला परेका १३ जनामध्ये रणभीमगण प्रकौली व्यारेकका १० जना नेपाली सेना रहेका छन् । यस्तै पर्साको वीरगञ्जमा फेला परेका मध्ये १ जना नेपाली सेना रहेको जनाइएको छ ।