काठमाडौँ । जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् ।
महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेको उनले बिहीबार दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन महावीर जन्मजयन्ती मनाउने गरिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए ।