काठमाडौं । नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । परिसंघले उक्त सामग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई ती राहत सामग्री हस्तान्तरण गरेका थिए ।
परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुटलगायतका खाद्य सामग्रीहरू उपलब्ध गराएको हो । हस्तान्तरण कार्यक्रममा परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा घनश्याम ओझालगायत सहभागी थिए ।